त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीस्थित होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा आएको छ ।
दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार होइमाङस्थित तामपुन तामाङको घरमा गत जेठ २६ गते देखापरेको झाडावान्ताले दुई बालिकाको निधन भएको छ भने छ जना बिरामीको स्वास्थ्यमा क्रमश: सुधार देखिएको छ । उनका अनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार थालिएको थियो ।
नौ जनाको परिवारमध्ये आठ जना सिकिस्त बिरामी भएपछि बुधवार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार थालिएको थियो । उपचारका क्रममा १० वर्षीया सुनिता तामाङ र पाँच वर्षीया आइसानी तामाङको बिहीवार निधन भएको थियो ।
उपचारका क्रममा दुई बालिकाको निधन भएपछि रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमा खटाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचाररत् परिवारका बाँकी छ सदस्य मृतक बालिकाको शव लिएर घर फर्किएका छन् ।
“रोग फैलन सक्ने जोखिम भएकाले स्वास्थ्यकर्मीको टोली गाउँमा खटाएका छौं । बिरामीको परिवारलाई पनि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ”, अध्यक्ष थापाले भने । उनीहरूलाई झाडावान्ता लाग्नुको कारण ‘फुडपोइजन’ देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
झाडावान्ता लागेपछि गाउँको स्वास्थ्य संस्थामा पुगेका उनीहरु थप उपचारका लागि अस्पताल नगएकाले रोगको सङ्क्रमण फैलिएको हुनसक्ने अध्यक्ष थापाको भनाइ थियो ।