विराटनगर । बोली नआउने अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको हो ।
बोल्न नसक्ने १७ वर्षकी अशक्त किशोरीलाई बलात्कार गरेको घटना बाहिर आएपछि प्रहरीले विराटनगर महानगरपालिका–८ का २४ वर्षीय प्रवेश बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतले मोरङको बेलबारी नगरपालिका–७ की किशोरीलाई आइतबार राति ९ः३० बजेतिर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर–बाहुनी चल्ने यात्रुबहाक बसका सह–चालक बस्नेतले किशोरीको घरनजिकको मकैबारीमा लगेर उनलाई बलात्कार गरेको खुलेको छ । ‘यात्रुसहितको बस लिएर बाहुनी पुगेपछि बसलाई पार्किङस्थलमा राखी चालक खाना खान होटलतिर गएछन् ।
सह–चालक बस्नेतले भने पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने किशोरीलाई मकैबारीतिर लगेर बलात्कार गरेको पाइयो,’ दाहाल भन्छन्, ‘घटनाका बारेमा प्रहरीमा भोलिपल्ट अर्थात सोमबार मात्रै जानकारी आयो । बस्नेतलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।’
प्रहरीका अनुसार बस्नेतले रातको समयमा अशक्त किशोरीलाई स्थानीय भूराज राईको मकैबारीमा लगेर बलात्कार गरेका हुन् । पीडित किशोरीका बुवाले सोमबार इलाका प्रहरी कार्यालय बेलबारीमा बस्नेतविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसलत्तगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
डीएसपी दाहालका अनुसार बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ ।