कपिलवस्तु । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बुद्धभुमी नगरपालिका-१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझी रहेका छन् । उनलाई शनिवार (आज) बिहान प्रहरीले पक्राउ गरेको हो ।
रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई उनीहरूको मन्जुरीमा शारीरिक सम्बन्ध राखेता पनि उक्त सम्बन्धलाई बलात्कार ठहर गर्दछ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ले किशोरीले उमेर र परिस्थिति हेरेर कैद सजाय निर्धारण गरेको छ ।
उक्त दफा को उपदफा (३) को (घ) अनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरका किशोरीलाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई दश वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।