पोखरा । कास्की जिल्लामा दैनिक पाँचवटा अपराधका घटना हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतवार गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइयो ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० को नौ महिनामा गरेको काम कारबाहीका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अपराध सम्बन्धी विभिन्न ३६ वटा शीर्षक अन्तर्गत एक हजार २२३ वटा मुद्दा दर्ता भएको जनाइएको छ।
कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क. का अनुसार उक्त अवधिमा ३२८ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका छन् । त्यस्तै, सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुरमा ३०१ वटा मुद्दा दर्ता हुँदा आत्महत्याका १२८ वटा मुद्दा दर्ता भएका छन् ।
३७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता हुँदा ४ वटा जबरजस्ती करणी प्रयासको मुद्दा दर्ता भएका छन् भने लागू औषधका ७७ वटा मुद्दा दर्ता भएका छन् ।
यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोग, अनाधिकृत पहुँचमा साइबर अपराधका २४३ वटा निवेदन परेका छन् जसमध्ये ६० वटा मुद्दा किनारा लागेको छ भने ११८ वटा निवेदन माथिल्लो निकायमा पठाइएको छ भने ६५ वटा मुद्दा अनुसन्धानका क्रममा छन् ।
साइबर अपराधमा सबैभन्दा बढी महिलाहरू पीडित भएका सो तथ्याङ्कले देखाउँछ । उक्त तथ्याङ्क अनुसार १४३ जना महिला, १७ जना पुरुष र तीन जना बालिकाहरू साइबर अपराधको सिकार भएका पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
९६३ पुरुष र १२९ महिला गरी कूल एक हजार १०२ प्रहरी कार्यरत् कास्कीमा ३५ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् भने ८७ जना पुरस्कृत भएका छन्। कारबाहीमा पर्ने र पुरस्कार पाउनेमध्ये प्रहरी जवान धेरै छन् । ११ जना प्रहरी जवान कारबाहीमा पर्दा १९ जनाले पुरस्कार पाएका छन् ।
यो अवधिमा ९० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर ३४ जना व्यक्तिको निधन भएको छ भने ९८ जना गम्भीर र ३२ जना सामान्य घाइते भएका छन् । ५७ हजार २४ वटा ट्राफिक कारबाहीमा चार करोड ८४ लाख ४० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
विपद्का घटना हेर्दा पोखरामा यति एयरको विमान दुर्घटनामा परेर ७२ जनाको निधन भएको छ भने आगलागीका ५८ वटा घटना, बाढी पहिरोका २१ वटा, अविरल वर्षा र चट्याङका का ४/४ वटा घटना र जनावर आक्रमणको एउटा घटना भएका छन् ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५७८ वटा कार्यक्रमहरू सम्पन्न भएका उक्त पत्रकार सम्मेलनमा जानकारी गराइयो । जसअन्तर्गत लागुऔषध सम्बन्धी ७६ वटा, साइबर सुरक्षा सम्बन्धी ५७ वटा, महिला बालबालिका सम्बन्धी ५५ वटा लघु सचेतनामूलक कार्यक्रम १०३ वटा सम्पन्न भएको डिएसपी वि.क. ले बताए ।
यो अवधिमा प्रहरीले १३२ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको छ भने उनीहरूबाट ७७ लाख ८९ हजार ९४० जरिवाना असुल गरिएको छ ।
कास्कीमा २८७ वटा घरेलु हिंसाका निवेदनहरू परेकामा २३३ वटा मिलापत्र भएको छ भने ३३ वटा निवेदनहरू अदालत पुगेका छन् ।