नेपालमा संघीयता कार्यान्वयनसँगै दुई वटा प्रादेशिक निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी मिश्रित निर्वाचन प्रणाली आपनाइए पनि संसदमा महिला सहभागिता अपेक्षाकृत रुपमा हुन सकेको छैन । यसै सन्दर्भमा संविधान जारी भएपछि भएको पहिलो प्रदेश संसदमा महिलाको उपस्थिति कस्तो थियो र दोस्रो प्रादेशिक निर्वाचनपछि सातै प्रदेशसभामा महिलाको प्रतिनिधित्व कस्तो रह्यो भनी हामीले तुलनात्मक अध्ययन गरेका छौँ । यसका लागि हामीले निर्वाचन आयोगले प्रकाशित गरेको प्रदेशसभा सदस्य निर्वाचन,२०७४, निर्वाचन परिणाम पुस्तक र यसअघि हामीले प्रदेशसभा निर्वाचन २०७९ बाट सातै प्रदेशमा महिलाको उपस्थिति सम्बन्धमा तयार पारेको सामग्रीलाई आधार बनाएका छौँ ।
प्रदेश १
प्रदेश १ मा ५६ प्रत्यक्ष निर्वाचित र ३७ समानुपातिक गरी ९३ सदस्यीय प्रदेशसभा छ । २०७४ सालको निर्वाचनमा यो प्रदेशसभामा २ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३० जना महिला समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए । यो संख्या जम्मा प्रदेशसभा सदस्य संख्याको ३४.४१ प्रतिशत हो । यसपालिको निर्वाचनमा भने प्रदेश १ प्रदेशसभामा २ जना प्रत्यक्ष निर्वाचित तथा ३१ जना समानुपातिकबाट गरी जम्मा ३३ जना अर्थात् ३५.४८ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ ।
मधेस प्रदेश
६४ जना प्रत्यक्ष निर्वाचित र ४३ जना समानुपातिकबाट गरी जम्मा १०७ सदस्यीय मधेस प्रदेशसभामा २०७४ सालमा जम्मा पाँच जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३२ जना महिलाले समानुपातिक प्रतिनिधित्व गरेका थिए । त्यतिबेला ३४.५८ प्रतिशत महिला प्रतिनिधित्व भएको यस प्रदेशमा यसपटक भने ३९ जना अर्थात् ३६.४५ प्रतिशत महिला प्रतिनिधित्व भएको छ । यस प्रदेशमा यसपालि प्रत्यक्षमा ४ महिला निर्वाचित भए भने समानुपातिकबाट ३५ जना निर्वाचित भएका छन् ।
बाग्मती प्रदेश
वाग्मती प्रदेशमा प्रत्यक्ष निर्वाचित ६६ र समानुपातिकबाट निर्वाचित ४४ गरी जम्मा ११० सदस्यीय प्रदेशसभा रहेको छ । २०७४ सालमा यहाँ पाँच महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३२ जना समानुपातिकबाट निर्वाचित भएका थिए । यसपालिको निर्वाचनमा बाग्मती प्रदेशमा पाँच महिला प्रत्यक्ष निर्वाचित भए भने ३५ महिलाले समानुपातिक प्रणालीबाट प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् । २०७४ सालमा जम्मा ३३.६४ प्रतिशत महिला प्रतिनिधित्व भएको यस प्रदेश सभामा यसपालि भने ३६.३६ प्रतिशत प्रतिनिधित्व भएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा ३६ जना प्रत्यक्ष निर्वाचित तथा २४ जना समानुपातिक गरी जम्मा ६० सदस्यीय प्रदेशसभा रहेको छ । यहाँ अघिल्लो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणालीबाट २ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १८ जना गरी जम्मा २० जना महिला निर्वाचित भएका थिए । यसपालि पनि यस प्रदेशमा २ जना महिला प्रत्यक्ष निर्वाचित भए भने १९ जना समानुपातिक प्रणालीबाट निर्वाचित भए । प्रतिशतका हिसाबले २०७४ सालमा महिला प्रतिनिधित्व ३३.३३ प्रतिशत थियो भने यसपाली ३५ प्रतिशत पुगेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिकको ३५ गरी जम्मा ८७ सदस्य रहने व्यवस्था छ । २०७४ सालमा ३२ जना अर्थात् ३६.७८ प्रतिशत महिला प्रतिनिधित्व रहेको यस प्रदेशसभामा यसपालि भने ३३ जना अर्थात् ३७.९३ प्रतिशत महिला प्रतिनिधित्व भएको छ । अघिल्लो निर्वाचनमा दुई जना प्रत्यक्ष निर्वाचित भएका यस प्रदेशमा यसपालि भने एक जना मात्र महिला निर्वाचित भइन् ।
कर्णाली प्रदेश
प्रदेशसभा सदस्यका हिसाबले यो प्रदेश सबैभन्दा सानो प्रदेश हो । यहाँ २४ प्रत्यक्ष र १६ समानुपातिक गरी जम्मा ४० सदस्यीय प्रदेशसभा रहेको छ । २०७४ सालमा कुनै पनि महिला उम्मेदवारलाई विजयी गराउन नसकेको यस प्रदेशले यसपालि पनि महिलालाई प्रत्यक्ष निर्वाचित गर्न सकेन । २०७४ सालमा १३ जना अर्थात् ३२.५ प्रतिशत महिला प्रतिनिधित्व भएको यस प्रदेशमा यसपाली भने १५ जना अर्थात ३७.५ प्रतिशत महिला प्रतिनिधित्व भएको छ । संविधान जारी भएपछिका दुवै प्रादेशिक निर्वाचनमा यो प्रदेशमा एक जना पनि महिला प्रत्यक्ष निर्वाचित भएका छैनन् । यो प्रदेशमा यसपाली भने सभामुखमा महिला निर्वाचित भएकी छन् ।
सुदूरपश्चिम प्रदेश
यो प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिकबाट गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा छ । २०७४ सालमा एकजना महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गरेको यस प्रदेशसभाले यसपालि भने कुनै पनि महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गर्न सकेन । यस प्रदेशसभामा दुवै निर्वाचनमा १८ जना अर्थात् ३३.३६ प्रतिशत महिला प्रतिनिधित्व भएको छ । अन्य ६ वटै प्रदेशमा अघिल्लो निर्वाचनको तुलनामा महिला प्रतिनिधित्व प्रतिशत वृद्धि हुँदा यस प्रदेशमा भने बढेन ।
समग्रमा, अघिल्लो निर्वाचनको तुलनामा प्रदेश सभामा यसपालिको निर्वाचनमा प्रत्यक्ष निर्वाचित महिलाको संख्या घटेको छ । २०७४ सालमा सबै प्रदेशमा गरेर जम्मा १७ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए । तर यसपालिको निर्वाचनमा जम्मा १४ जना महिला मात्रै प्रत्यक्ष निर्वाचित भए । समानुपातिक प्रतिनिधित्वका हिसाबले भने अघिल्लो निर्वाचनका तुलनामा सबै प्रदेशमा यसपटक महिलाको प्रतिनिधित्व बढेको छ । प्रतिशतका हिसाबले पनि अघिल्लो निर्वाचनको तुलनामा सुदूरपश्चिम बाहेक सबै प्रदेशमा यसपटक महिला प्रतिनिधित्व बढेको छ । २०७४ सालमा प्रदेशसभाको ५५० सिटमध्ये १८९ अर्थात् ३४.३६ प्रतिशत प्रतिनिधित्व भएको थियो भने यसपालि १९९ अर्थात् ३६.१८ प्रतिशत प्रतिनिधित्व भएको छ ।
यो सामाग्री नेपाल चेक डट ओआरजीले उत्पादन गरेको हो ।