मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आज निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
मतदाता नामावलीमा भएका एक करोड ७९ लाख ८८ हजार ५७० नेपाली नागरिक मध्ये ६९ लाख ४१ हजार ६३५ जना निर्वाचनमा सहभागी नै भएनन् । निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै ६१ दशमलव ४१ प्रतिशत मतदान भएको जनाएको छ ।
मतदानमा सहभागी हुनको लागि आफ्नो मतदाता नामावली जुन स्थानमा छ सोही स्थानमा जानुपर्ने भएकाले पनि कम सङ्ख्यामा मतदान भएको अनुमान गर्न सकिन्छ । रोजगार, शिक्षा र अन्य कारणले गाउँबाट सहर पसेका नागरिकहरू मतदानको लागि नजाँदा ६१ प्रतिशत मात्रै मतदान भएको हो ।
निर्वाचन आयोगले बर्सेनि मतदाता शिक्षाको लागि ठुलो धनराशि खर्च गर्दै आइरहेको छ तर पनि यस पटकको प्रतिनिधि सभा निर्वाचनमा भोट हालेका मध्ये पाँच लाख ५९ हजार ७६ जनाले भोट हाल्न जानेनन् र उनीहरूको मत बदर भयो ।
आयोगले बदर मत घटाउने विभिन्न प्रयासको बावजुत पनि बदर मत घट्न सकिरहेको छैन ।
यहाँ हामीले कुरा गरिरहेको प्रत्यक्ष निर्वाचनको हो । प्रदेशसभा प्रत्यक्ष निर्वाचनमा ६९ लाख ५४ हजार ७० जनाले भोट हालेनन् । यो सङ्ख्या प्रतिनिधि सभा निर्वाचनमा भोट नहाल्नेको भन्दा १२ हजार ५३४ ले बढी हो ।
प्रदेशसभामा चार लाख ४९ हजार २०० जनाले हालेको भोट बदर भएको छ ।
कस्तो अवस्थामा मत बदर हुन्छ ?
- स्वस्तिक छाप निर्वाचन चिह्न भएको कोठाभन्दा बाहिर लागेमा ।
- स्वस्तिक छाप दुई फरक निर्वाचन चिह्न भएका कोठाहरूमा छुने गरी लगाएमा ।
- एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाएमा ।
- राम्रोसँग नपट्याउँदा एउटा चिह्नमा लगाएको स्वस्तिक छापको मसी लतपतिएर अर्को चिह्नमा लागेमा ।
- स्वस्तिक छापभन्दा अन्य कुनै हिसाबले मतसंकेत गरेमा । जस्तै निर्वाचन चिह्नमा औँठाछाप लगाएमा वा हस्ताक्षर गरेमा ।
- मतपेटिकामा मतदान अधिकृतको हस्ताक्षर नभएमा ।