काठमाडौं । इन्टरपोलद्वारा आयोजित “इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेन्स फर योङ्ग पुलिस लिडर्स” प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।
मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।
नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको “ लेट्स सेभ द् प्लानेट- इन्टरपोल १००” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।
भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसिल इन्टेलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ ।
उक्त महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।