काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको चार सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ ।
बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने “इन्टिग्रेटेड प्रोग्राम फर स्टेन्थेनिङ सेक्युरिटी एण्ड जस्टिस (फेज २)” विषयक कार्यक्रममा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल सहभागी छन् ।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित विदाइ गरे ।
उक्त कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै यौनिक एवम् लैंगिक हिंसा र बालबालिका विरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।
साथै सो अवधिमा बेलायत प्रहरी, प्रहरी ईकाइ आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।