रामेछाप । रामेछापमा बिहीबार बेलुका भएको बोलोरो दुर्घटनामा पाँच जनाको निधन भएको छ भने ११ जना घाइते भएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीबाट कौछेनी जादै गरेको बा.११च ५५३ नं.को बोलेरो सडक देखि १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त बोलेरोमा सवार १६ मध्ये चार जना महिलाको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घटनास्थलमै निधन हुनेमा मन्थली नगरपालिका-७ कौछिनी बस्ने बर्ष ८२ की नन्दमाया भण्डारी, बर्ष ६८ की जेशुङ तामाङ, बर्ष ४० की ज्यान रानी तामाङ र सुनापती गाउँपालिका-१ गुन्सी बस्ने सुवास घिसिङको छोरी बर्ष ८ की लाक्पा घिसिङ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा सामुदायिक अस्पताल मन्थलीमा निधन भएको हो । चालक मन्थली नगरपालिका-७ कौछेनी बस्ने वर्ष ५० को दल बहादुर आलेमगर रहेको प्रहरीले जनाएको छ ।
घाइते ११ जनामध्ये एक महिला र एक बालिका काठमाडौँ अपाङ्ग अस्पताल जोरपाटी उपचार भई रहेको र एक बालिकाको धुलीखेल अस्पतालमा उपचार भई रहेको बताइएको छ । त्यस्तै तीन महिला चार पुरुष र एक बालिकाको मन्थली अस्पताल र सामुदायिक अस्पताल मन्थलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।