सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरीद सम्झौता गरिएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरीदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए । “यीमध्ये १३ परिवारको घर पुन:निर्माण तथा बाँकीलाई पुन:स्थापना गर्नुपर्ने अवस्था छ”, उनले भने । हालसम्म २२ परिवारका लागि जग्गा खरीद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन् ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख दिइनेछ । “यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत साझेदारी गर्नुपर्ने छ”, उनले भने।
विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी पाँच सय ५१ घर बगाएको थियो ।