
सिन्धुली। झापाबाट हायस चढेर काठमाडौं आउँदै गरेका एक युवाको साथबाट प्रहरीले लागुऔषध खैरो हिरोइन फेला पारेको छ ।
सोमबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटार स्थित बि.पि.राजमार्गमा रहेको प्रहरी चेक प्वाईन्टमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५ ख ९१३४ न. को हायसमा सवार व्यक्तिको साथबाट लागुऔषध बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर बस्ने बर्ष २२ को राजा खडका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले केटिएम दैनिकलाई बताए । खड्का माइक्रोको चार नम्बरमा सिटमा बसेका थिए ।
उनले आफ्नो साथमा बोकेको झालबाट प्रहरीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४६ ग्राम फेला पारेको हो ।
लागुऔषधिसहित पक्राउ परेका खड्कालाई सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।