
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट ‘हेर्न नमिल्ने’मा परेको छ ।
यो रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो। तर, सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन्।
सर्वोच्च अदालतमा सोमबार दर्ता भएको रिटमा मंगलबार न्यायाधीश सिन्हाको एकल इजलासमा सुनुवाइ हुने तालिका थियो।
सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दिएको रिट सोमबार दर्ता भएको थियो।
रिटमा उत्प्रेषण, परमादेशलगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो। रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।
यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए।
मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए।
रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।