काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ ।
मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको हो । रिटको पेसी भोली (मंगलबार) का लागि तोकिएको छ । युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गरिएको छ।
अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्न भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग छ ।
आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।
त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।
दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले माग गरेका छन् ।
यसअघि नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज गर्दै पुनः नागरिकता लिन आदेश गरेको थियो। सर्वोच्चको उक्त फैसला अनुसार लामिछानेले पुनः नागरिकता लिएका थिए।
सर्वोच्चले नेपाली नागरिक नभएको ठहर गरेपछि सांसद पद गुमाएका थिए।
अहिले चितवन-२ लगायत तनहुँ र बारामा निर्वाचन आयोगले उपनिर्वाचन गराउँदै छ । बैशाख १० मा हुने उपनिर्वाचनमा आज उम्मेदवार मनोनयनको दिन छ ।
लामिछानेले चितवनबाट पुन: उम्मेदवारी मनोनयन गरिरहेका छन् ।