रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिवारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिवार र आइतवार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका लागि प्रस्थान गरिसकेका र नेपालबाट पनि आइतवार पाँचजना चिनियाँ पर्यटक मितेरीबाट केरूङतर्फ गएका छन् ।
यसैगरी, केरूङ घुम्नका लागि शनिवार र आइतवार गरी एक सय छजना नेपाली मितेरी पुलबाट चिनियाँ क्षेत्रमा प्रस्थान गरेका सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ ।
सीमाक्षेत्रमा बसोबास गर्ने नेपालीका लागि चीनको केरूङ प्रान्तमा जान पाउने गरी रसुवावासीका लागि अध्यागमन कार्यालयले विगतका वर्षमा जारी गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन रसुवाको घट्टोलास्थित उक्त कार्यालयमा भीड बढ्न थालेको छ ।
करीब पाँच सय छ जनाले नवीकरण गराइसकेका र नवीकरणका लागि दैनिक ठूलो सङ्ख्यामा रसुवाबासी अध्यागमन कार्यालय पुग्ने गरेका कार्यालयका वरिष्ठ अध्यागमन सहायक खेमराज खड्काले बताए।
केरूङमा हाललाई मालबाहक सवारी चलाउने चालक र नवीकरणसहितको स्थायी परिचयपत्र भएका रसुवावासीले मात्र जान पाउने बताइएको छ । केरूङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।
साथै, सीमाक्षेत्रका चिनियाँ अधिकारीले गरेको आग्रहलाई स्वीकार्दै सीमाक्षेत्रमा रहेको हेल्थडेक्समार्फत तीन सय ६४ जनाको एजेटिजेन परीक्षण गरिएको छ । परीक्षणबाट पोजेटिभ भेटिएका तीन जनालाई होम आइसोलेसन पठाइएको छ ।