काठमाडौं । उदयपुरमा एक १६ वर्षीया किशोरी र तनहुँमा ४४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरीङ गाउँपालिका-५ धेनु घर भई देवघाट गाउँपालिका-५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पुरनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपालको कानुनले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरेमा उमेर र परिस्थिती हेरेर सजाय तोकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ अनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीलाई उनीहरूकै मञ्जुरीमा शारीरिक सम्वन्ध राखेतापनि उक्त सम्वन्ध जबरजस्ती करणी ठहर हुन्छ ।
१६ देखि १८ वर्ष उमेरका किशोरीहरूमाथि करणी गर्नेलाई १० देखि १२ बर्षसम्म कैद सजाय तोकिएको छ भने त्योभन्दा माथिका महिलालाई करणी गर्ने व्यक्तिलाई सात देखि १० वर्षसम्म कैद सजाय तोकिएको छ ।