तानसेन । पाल्पामा एक ६१ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको तानसेन नगरपालिका बस्ने एक महिलालाई उनकै घर नजिकै खोल्सामा दुई जनाले बलात्कार गरेका हुन् ।
चैत १४ गते राती पौनै १० बजे ती महिलालाई तानसेन नगरपालिका-६ मा खानेपानी ट्याङ्की निर्माणको लागि खटिएका दुईजनाले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
सामूहिक बलात्कारको आरोपमा पक्राउ पर्नेमा रुपन्देही कोटहीमाई गाउपालिका-२ घर भएका बर्ष १८ को किसमोहन लोध र रुपन्देहीको गैडहवा गाउँपालिका-६ घर भएका बर्ष ५६ को महताम लोध रहेको डिएसपी थापाले बताए ।
पीडित महिलाकी छोरीले चैत १५ गते प्रहरीमा जाहेरी दिएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको कानुनले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरेमा उमेर र परिस्थिती हेरेर सजाय तोकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ (ङ) अनुसार अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गर्नेमाथि सात वर्षदेखि १० वर्षसमम्म सजाय हुन्छ ।