काठमाडौँ । दुर्व्यवहारको गम्भीर मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन गर्ने भएपछि नेपाल वायु सेवा निगमका पाइलटहरूमा छटपटी बढेको छ ।
उनीहरूले सम्भावित कारबाहीबाट छल्न दुर्व्यवहारको विषयलाई अन्यत्र मोड्ने, एयर होस्टेजहरुलाई नै अनावश्यक लाञ्छना लाउने जस्ता घृणित काममा लागेको स्रोतको दाबी छ ।
पाइलट अरविन्द पहारीले एयर होस्टेजमाथि गरेको दुर्व्यवहारविरुद्ध कर्मचारीहरूले लिखित रूपमै उजुरी गरेका थिए । त्यसपछि क्यानले पहारीसहितका क्याप्टेनलाई तत्काल उडानका लागि रोक्न निगममा पत्राचार गरेको थियो ।
विवादित पाइलटहरूलाई जोगाउने, एयर होस्टेजका समस्या सुल्झाउने भन्दा पनि बेवास्ता गरी अभियुक्तलाई मलजल गरेको भन्दै कर्मचारीहरूले अपरेसन डाइरेक्टर आरके शेरचनसहितका क्याप्टेनहरुमाथि सामूहिक छानबिनको आवाज उठाएका छन् ।
पहारीसहितले भने यी घट्नालाई बङ्ग्याएर मिडियामा विभिन्न तर्क गर्न थालेका छन् । क्यान स्रोतले एयर होस्टेजहरुको आवाज सुन्ने, फ्लाइट सेफ्टीलाई ख्याल गर्ने र आरोपित क्याप्टेनका विषयमा कडा छानबिन गर्ने गरी काम अघि बढाएको छ ।
तर, निगमका अध्यक्ष युवराज अधिकारी, निर्देशक शेरचनसहित भने फेरी पनि यो घट्नलाई सामसुम पार्ने पक्षमा छन् ।
पर्यटन मन्त्रालयले भने नेपाल एयरलाइन्सभित्रको यो प्रकरणलाई गम्भीर रूपमा लिई विस्तृत छानबिन गर्न ताकेता गरेको बुझिएको छ ।
२०७९ साल साउन ११ गते मलेसियाको राजधानी क्वालालम्पुरदेखि काठमाडौँ उडान भरेको नेपाल एयरलाइन्सको उडानमा कप्तान अरविन्द राज पहारीले एक जना परिचारिका माथि दुर्व्यवहार गरेका थिए ।
उडानको समयमा क्याबिन क्रु कर्मचारीहरूले मानसिक तनाव र उडानमा पर्न गएको गम्भीर असरको बारेमा साउन २७ गते पीडित कर्मचारीहरूले इमेल र हस्तलिखित उजुरी सम्बन्धित शाखाका अधिकारीहरूलाई बुझाएका थिए । यस विषयमा केटिएम दैनिकले मात्र समाचार प्रकाशन गरेको थियो ।
क्याप्टेन पहारीले एक पटक होइन, दर्जनौँ पटक यस्ता घटना दोहोराएको, पहुँचका भरमा सबै थामथुम पार्दै आएको भन्दै कर्मचारीहरूले भने यस पटक आन्दोलन नै थालेका हुन् ।
सम्बन्धित समाचार