
नेपाल वायु सेवा निगममा यतिबेला लफडा छ । पाइलटले ल्यान्डिङको समयमा विमान परिचारिकालाई ककपिटमा राखेर ल्यान्डिङ गरेको कुरालाई लिएर निगममा तनाव भएको हो । कुनै एउटा फ्लाइटमा क्याप्टेन अरविन्द राज पहारीले ढोका हेर्ने जिम्मेवारीमा रहेकी नवनियुक्त विमान परिचारिकालाई ककपिटमा राखेर ल्यान्ड गरेका थिए । उक्त कुराले क्याबिन क्रु मा तहल्का मच्चियो ।
ढोका हेर्ने जिम्मेबारी पाएकी विमान परिचालिकालाई ककपिटमा लगेर राखेपछि हवाइ सुरक्षाको दृष्टिकोणले गलत रहेको भन्दै कर्मचारीहरू रुष्ट भएका थिए । यो गलत हो, यस्तो व्यवहारलाई निरुत्साहित गर्नुपर्छ, आफ्नो हक र हितको लागि बोल्नै पर्छ, आवाज उठाउनै पर्छ भनेर विमान परिचारिकाहरू एकजुट भए ।
नयाँ नियुक्त भएकी विमान परिचारिकाले उक्त घटनापछि काम छोडिन् । तर, सो विषयले नेपाल वायुसेवा निगममा हलचल मच्चियो । क्याप्टेनले गरेको गलत कार्य विपरीत बोल्ने परिचारिकाहरूलाई मानसिक तनाव दिन सुरु गरियो । पाइलटको उक्त कार्यलाई निरुत्साहित गर्नुपर्छ भनेर आवाज उठाउने एक महिला कर्मचारीमाथि पहारीले मानसिक दबाब दिन थाले ।
२०७९ साल साउन ११ गते मलेसियाको राजधानी क्वालालम्पुरदेखि काठमाडौँ उडान भरेको नेपाल एयरलाइन्सको उडानमा कप्तान अरविन्द राज पहारीले एक जना परिचारिका माथि दुर्व्यवहार गरेका थिए । ककपिटमा राखेको विषयमा आवाज उठाएको भन्दै उनले कर्मचारीहरूलाई दुर्व्यवहार गरेका हुन् ।
विमान चालक पहारीले जुनियर विमान परिचारिकालाई बोलाएर सबै जिम्मा आफूले लिनु भनी अराई सिकाइ गरेर पठाएपछि सोही विमानमा रहेका सिनियर विमान परिचारिकाहरूले आफूलाई जिम्मेबारीबाट हटाइएको भन्दै मानसिक तनाव झेलेका थिए ।
उडानको समयमा क्याबिन क्रु कर्मचारीहरूले मानसिक तनाव र उडानमा पर्न गएको गम्भीर असरको बारेमा साउन २७ गते उनीहरूले इमेल र हस्तलिखित उजुरी सम्बन्धित शाखाका अधिकारीहरूलाई बुझाइएका थिए । केटिएम दैनिकले प्राप्त गरेको इमेल उजुरीमा एक सिनियर विमान परिचारिकाले पाइलटको अन प्रोफेसनल कामबाट आफूले मानसिक तनाव भोगिरहेको हुनाले यस विषयलाई महत्वका साथ हेरिदिन क्याबिन क्रु डिभिजनको डाइरेक्टर क्याप्टेन विजय लामालाई आग्रह गरिएको छ ।
यता, क्याप्टेन लामाले आफूले इमेल पाएको नौ दिनपछि सो इमेल नेपाल वायु सेवा निगमका उच्च पदस्थ अधिकारीलाई पठाउँदै यस विषयमा चाँडोभन्दा चाँडो सम्बोधन गर्न भनेका छन् । उनले ककपिट क्रु मेम्बर र क्याबिन क्रु मेम्बर बीच असमझदारी हुनु राम्रो कुरा नभएको भन्दै त्यसलाई यथाशक्य चाँडो सल्टाउन अनुरोध गरेका छन् ।

त्यस विषयमा निगमका उच्च पदस्थ कर्मचारीबाट उत्तर नपाएपछि क्याप्टेन लामाले पुनः छ दिनपछि इमेल फरवार्ड गर्दै यस विषयमा उचित निर्णय लिन भनेका छन् ।
यसका साथै क्याप्टेन आरके शेरचन, सुमिलि सुब्बा जुहार्चन र विकास श्रेष्ठलाई समेत लिखित उजुरी दिइएको पाइएको छ । उनीहरूले उजुरीको सम्बोधन गर्नुको सट्टा कर्मचारीलाई नै निकाल्ने षड्यन्त्र गरेको स्रोतको दाबी छ ।
आफू हिंसामा परेको भनेर उजुरी दिएकी सिनियर विमान परिचारिकालाई उडानमा सहभागी हुन रोक लगाइयो । रोक लगाइएको उक्त विमानको क्रु मेम्बरमा तिनै परिचारिकाको नाम थियो । अन्तिम समयमा आएर विमान चालक पहारीले ति परिचारिकालाई राख्ने भए आफूले विमान नउडाउने अडान कसे ।
पीडित भनिएकी परिचारिकाले आफ्नो उजुरी लिएर तीन महिनासम्म विभिन्न निकायहरू पुगेको भए पनि कतैबाट उक्त उजुरीको सम्बोधन हुन सकिरहेको छैन । केटिएम दैनिकले प्राप्त गरेको २०७९ पुस २ वायु सेवा निगमको अपरेसन डिपार्टमेन्टमा दर्ता भएको उजुरीमा ‘दुर्व्यवहार बारे सुनावाई नभएको’ उल्लेख गरिएको छ ।

सो उजुरीको बोधार्थ पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवन राम श्रेष्ठ, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारी, मानव संशोधन विभाग निर्देशक अशोक सिग्देल, उडान सुरक्षा निर्देशक धिरेन्द्र रौनियारलाई पनि दिइएको छ । तर उनीहरूको उजुरीको सुनुवाइ हुनुको साटो उल्टै मानसिक समस्या दिएर जागिरबाटै निकाल्ने सम्म चलखेल भएको स्रोतले केटिएम दैनिकलाई बतायो । हिजो सोमबार मन्त्रालयमा यो उजुरी दर्ता भएको बुझिएको छ । उजुरी गर्ने विमान परिचालिकाले मन्त्रीलाई भेटेर आफूमाथि भएको हिंसाको बेलिविस्तार लगाएको मन्त्रालय स्रोतले बताएको छ ।
उजुरी गरेको भन्दै विमान परिचारिकाहरूको करार अवधि थपिएन
विमान चालक पहारीविरुद्ध उजुरी गरेका परिचारिकाहरूको करार अवधि थप गर्न निगमले आनाकानी गरेको थियो । उजुरी गर्ने परिचारिका र उनलाई समर्थन गर्ने सहकर्मीको करार थप नभएपछि त्यहाँ कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।
मङ्सिर २९ गते बिहीबार कर्मचारीको आन्दोलनका कारण निगमले गर्ने तीन वटा अन्तर्राष्ट्रिय उडान रोकिएका थिए । साउदी अरेबियाको रियाद र भारतको दिल्ली तथा बेंगलोरका लागि तय भएका उडानहरू कर्मचारीको आन्दोलनको कारण अन्तिम समयमा आएर रद्द भएका हुन् ।
आन्तरिक मूल्याङ्कनमा ती दुई जना एयर होस्टेजको करार अवधि नथप्ने तयारी गरेको भनेता पनि उनीहरूले सेवा गरेको १५ वर्षको अवधिमा एउटा पनि कम्पलेन नपरेको स्रोतले बताउँछ । पाइलटकै विरुद्ध उजुरी दिएकै कारण उनीहरूलाई जागिरबाट निकाल्ने प्रपचन्च रचिएको स्रोतको दाबी छ ।
एकै दिन तीन वटा अन्तर्राष्ट्रिय विमान रद्द गर्दा ठुलो धनराशि गुमेको भन्दै निगमले दुई विमान परिचारिकाको करार अवधि थप गरेको पाइएको छ । तर पनि आफूहरू हिंसामा परेको भनेर पटक पटक लिखित, मौखिक तथा इमेलमार्फत उजुरी गर्दा पनि सुनुवाइ नभएको हिंसामा परेका विमान परिचारिकाहरूको भनाई रहेको छ ।
तलबमा विभेद: काम सातौँ तहको तलब भने पाँचौँ तहको मात्र
नागरिक उड्डयन मन्त्रालयमा सोमबार दर्ता भएको उजुरीमा परिचारिकाहरूलाई तलबमा पनि विभेद गरिएको जनाइएको छ । उजुरीमा लेखिएको छ ‘यहाँ १५ वर्षदेखि काम गरेकाहरूलाई पनि तलबमा विभेद गरिएको छ । सातौँ तहको काम गर्नेलाई पनि ५ औँ तहको सेवा सुविधा दिइन्छ । जुन गलत हो । हामीले यति समयसम्म चुपचाप नै बस्यौँ । एउटा कनट्याक्ट ले गर्दा हामीले पाउने हक अधिकार पाउन बाट वञ्चित भयौँ । जब हामीले आवाज उठाउन सुरु गर्यौँ अनि हामीलाई मानसिक हिंसा दिन थालियो ।
कहिले उडान भर्न नदिने, कहिले करार अवधि नथपिने भन्ने, त कहिले चरित्रमाथि नै प्रश्न उठाउने कार्यहरू कार्यालयका कर्मचारीबाट हुने गरेका छन् ।’
नेपाल वायुसेवा निगमको सञ्चालक समितिले २०७७ भदौ २९ गते जारी गरेको विमान परिचारक/परिचारिकाको करार नवीकरण कार्य सम्पादन मूल्याङ्कनको आधार र मापदण्डमा उजुरी दिने परिचारिकालाई विभेद गरेको पाइएको छ । स्रोतले भन्यो, ‘कार्यसम्पादनमा अब्बल रहेकी उक्त परिचारिकालाई कार्यसम्पादन राम्रो नभएको भन्दै कम अङ्क दिएर जागिरबाट निकाल्न खोजिएको थियो तर, उनले गरेको काम देखेका अन्य कर्मचारीहरूले उनीमाथि अन्याय भयो भन्दै आन्दोलन गरेका थिए । जसले गर्दा निगम करार अवधि थप्न बाध्य भयो ।’
करार अवधि थपिए पनि कसरी काममा जाने कि नजाने भनेर उनीहरू अलमलमा छन् । आन्दोलनमा सहभागी भएका केही कर्मचारीहरू भोलि आफू पनि हिंसामा परिन्छ कि भनेर परिचारिकाको पोशाक र प्लेन देख्दा नै आफूहरू तर्सिन थालेको बताउँछन् ।
महिलाको आन्दोलनमा मिसिए ट्रेड युनियनका कर्मचारी
मङ्सिर २९ गते बिहीबार निगमको केन्द्रीय कार्यालयमा शान्तिपूर्ण आन्दोलन गरिरहेका महिला कर्मचारीहरूलाई ट्रेड युनियनका सदस्यहरू आएर हातपात गरेको केटिएम दैनिकले प्राप्त गरेको भिडिओमा देखिन्छ । उनीहरूको कुटपिटबाट केही घाइते भएका थिए भने एक जनाको कानबाट रगत समेत बगेको थियो ।
अवस्था साम्य नभए पछि प्रहरीलाई बोलाइएको थियो । प्रहरीले ट्रेड युनियनका कर्मचारीहरूलाई नियन्त्रणमा लिएपछि महिला हिंसा बन्द गर भन्दै कर्मचारीहरूले नाराबाजी गरेको उक्त भिडिओमा सुन्न सकिन्छ ।
बेलुका निगमका उच्च तहका कर्मचारीहरू गएर प्रहरी नियन्त्रणमा रहेका ट्रेड युनियनका सदस्यहरूलाई छुटाएका थिए ।
यो विषयमा केटिएम दैनिकले थप फ्लोअप गर्नेछ ।
फ्लोअप १ : फलोअप: वायुसेवा निगममा क्याप्टेन पहारीको दादागिरी !
थप अपडेट : विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने चालकलाई उडान गर्न रोक