वीरगन्ज । कम्मरमा सेतो टेपले बेरेर भारतबाट लुकाइ छिपाइ ल्याउँदै गरेको लागु औषधसहित पर्साको वीरगन्जबाट एक युवा पक्राउ परेका छन् ।
बिहीबार बेलुका ७:१५ बजे वीरगन्ज महानगरपालिका-१६ मा रहेको बसपार्कस्थित भानु चोकमा एक जना व्यक्ति शंकास्पदरूपमा हिँडिरहेको पाइएपछि चेकजाँच गर्दा ती युवाको साथबाट लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय वीरगन्जका प्रवक्ता डिएसपी दिपक गिरीले बताए ।
प्रवक्ता गिरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट डाइजेपाम-१५ एम्पुल, नुरफिन-१५ एम्पुल, फेनारगन-१५ एम्पुल गरी जम्मा ४५ एम्पुल र नाइट्राजेपाम ट्याब्लेट लिएको २८ पत्तामा २८० ट्याब्लेट बरामद भएको छ ।
लागु औषध बोकेर हिँडिरहेका युवा चितवन भरतपुर महानगरपालिका-१० बस्ने वर्ष २० को सुजन ठकुरी रहेको प्रवक्ता गिरीले बताए ।