काठमाडौं । मोटरसाइकलको हेलमेटभित्र लुकाएर ल्याएको १८ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
बुधवार साँझ ८:३० बजे वीरगन्ज-रक्सौल सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण वीरगन्ज पर्साबाट खटिएको टोलीले जाँचका क्रममा दुई वटा मोटरसाइकलमा आएका भारतीय नागरिकले हेलमेटमा लुकाएर ल्याएको स्रोत नखुलेको नौ/नौ लाख रुपैयाँ बरामद भएको हो । उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित रु ५०० दरका चारवटा भारतीय रुपैयाँ पनि बरामद भएको छ ।
भारत बिहार राज्यको पूर्वी चम्पारण रक्सौल-११ बस्ने राकेश कुमार (वर्ष २६) र सोही स्थानका फसंजित कुमार (वर्ष २७) ले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकल बीआर ०५ एभी ६८७१ र बीआर ०५ एभी ८९६७ सहित उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रत्येक हेलमेटमा एक हजार दरका नेपाली रुपैयाँ ६०० वटा (छ वण्डल) र पाँच सय दरका ६०० वटा राखिएको थियो । जिप्रका पर्साका प्रवक्ता डिएसपी दीपक गिरीका अनुसार यसअगाडि पनि मोटरसाइकलको ट्याङ्की, हेलमेट र सिट मुनी लाखौँ रुपैयाँ अवैध रूपमा नेपाल-भारतमा ओसारपसार हुने गरेको छ ।
प्रहरीले पाएको सूचनाका आधारमा यस कार्यमा संलग्न हुनेहरूलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गरिरहेको प्रवक्ता गिरी बताए । उनका अनुसार पक्राउ परेका दुवै भारतीय नागरिकमाथि अनुसन्धान जारी छ ।