
१५ बर्षीया नाबालिका र २० वर्षकी युवतीलाई भक्तपुरको लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुगु सोरु गाँउपालिका घर भई हाल जिल्ला भक्तपुर सूर्यबिनायक नगरपालिका-९ पलासे बस्ने बर्ष २१ को भक्त नेपाली र हुम्ला अदानचुली गाँउपालिका-३ घर भई हाल भक्तपुरको सूर्यबिनायक नगरपालिका-९ मिलनचोक बस्ने बर्ष १९ को गगन परियार रहेका छन् ।
नेपालीले काठमाडौंको थानकोट बस्ने १५ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । ती बालिकाको घर पनि मुगु नै रहेको र अहिले काठमाडौं बस्दै गरेको बुझिएको छ । नेपालीलाई भक्तपुर बाँसबारीबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।
त्यस्तै परियारले भक्तपुरको डेकोचा बस्ने बर्ष २० वर्षीया युवतीलाई करणी गरेर फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले भक्तपुरको जागतीबाट बुधबार बेलुका पक्राउ गरेको हो ।
उनीहरुले एकै समय जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवैलाई प्रहरी वृत्त जगातीमा राखेर जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भईरहेको डिएसपी पाण्डेले बताए।