
नेपाल क्रिकेट संघ(क्यान)ले निलम्बन फुकुवा गरेसंगै क्रिकेटर सन्दीप लामिछानेले समयसंगै फेरि भेटौँला भन्दै स्टाटस लेखेका छन्। मङ्लबार पोखरामा बसेको नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
बुधबार साझ लामिछानेले आफ्नो पुरानो फोटो अपलोड गर्दै सामाजिक सञ्जालमा समयसंगै फेरि भेट होला लेखेका हुन्।
समय संगै फेरी भेट होला।🥲 pic.twitter.com/iRsuF73KLt
— Sandeep Lamichhane (@Sandeep25) February 1, 2023
जबरजस्ती करणीमा सन्दीविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी परेपछि नेपाल क्रिकेट संघले भाद्र २३ गते लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको थियो ।
लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई असोज १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, त्यसविरुद्ध लामिछानेले उच्च अदालत, पाटनमा पुनरावेदन गरेपछि उच्च अदालतले पुष २८ गते उनलाई २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दिएको थियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका हुन् ।
लामिछानेलाई उच्च अदालतले पासपोर्ट रोक्का गर्दै विदेश जान रोक लगाएको छ भने काठमाडौंबाहिर जाँदा समेत प्रहरीलाई लिखित जानकारी दिनुपर्ने अदालतको आदेशमा उल्लेख छ ।