नेपाली सेनाको नारायणीहिटीमा रहेको उपत्यका पृतना हेडक्वाटरमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक राखेको छ ।
३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसा-२०७९ नजिकिँदै गर्दा प्रधानसेनापति प्रभुराम शर्माले सोमबार उक्त शालिकको अनावरण गरेका हुन् ।
सरकारले पुष २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाको निर्णयद्वारा पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने परम्परा समाप्त गरिएको थियो।
त्यसको ११ वर्षपछि २०७४ सालमा शेर बहादुर देउवाकाको सरकारमा कमल थापा उपप्रधानमन्त्री हुँदा पुष २७ गते सार्वजनिक बिदा दिइएको थियो ।
नेपाली सेनाले नेपाल एकीकरणको समयमा विजय अभियानको लागि प्रयोग भएका पदमार्ग गोरखा, धादिङ्ग, नुवाकोट हुंदै काठमाण्डौस्थित हनुमान ढोकासम्म सञ्चालन हुने “एकीकरण पदयात्रा” पुष २१ गते गोरखा दरबारबाट सुरु गरेको छ ।