नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकजना दिवस (पुष २७) गते अगाडि गोरखादेखि काठमाडौंसम्म एकीकरण पदयात्रा सुरु गरेको छ ।
“३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९” विविध कार्यक्रमहरु सहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानको लागि प्रयोग भएका पदमार्ग गोरखा, धादिङ्ग, नुवाकोट हुंदै काठमाण्डौस्थित हनुमान ढोकासम्म सञ्चालन हुने “एकीकरण पदयात्रा” हिजो (बिहीबार) गोरखा दरबारबाट सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त पदयात्रा कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनीहरुको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खट्टिएको टोलीको सहभागिता रहेको छ ।
पदयात्रा टोलीले धादिङ्ग जिल्लामा तैनाथ फौजलाई, धादिङ्ग जिल्लामा तैनाथ फौजले नुवाकोट जिल्लामा तैनाथ फौजलाई, नुवाकोट जिल्लामा तैनाथ फौजले काठमाण्डौंस्थित नागार्जुनमा तैनाथ फौजलाई र नागार्जुनमा तैनाथ फौजले पौष २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजंग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
पदयात्रा कार्यक्रम जंगी अड्डामा आयोजना हुने विशेष समारोहकाबीच समापन गर्ने कार्यक्रम रहेको छ ।