‘आफूले माया गरेको मान्छेसँग जिन्दगी बिताउने सपना सँगालेर विवाह गरेको थिए, बुवाले पनि आफ्नो छोरीको खुशीको लागि भनेर सकी नसकी विवाह गरिदिनु भयो । कस्मेटिक पसल चलाउने मेरो बुवाले उनीहरूको इच्छा र मेरो खुशीको लागि बर्दिबासको होटेलबाट फुल माला (इन्गेजमेन्ट) र राजदरबार होटेल जनकपुरबाट विवाह गरिदिनुभयो ।’ केटिएम दैनिकसँगको टेलिफोन सम्पर्कमा भावुक बनेकी महोत्तरीकी नेहा चौधरीले भनिन् ।
उनले भनिन्, ‘छोरीको खुशीको लागि बुवाले केटा पक्षको माग अनुसार २० तोला सुन, फर्निचर र अन्य सामान गरेर १ करोड २५ लाख खर्च गर्नु भयो । अहिले मेरो बुबाको सपना चकनाचुर भयो । छोरीको खुशीको लागि त्याग गर्नुभएको बुवा रुँदा मेरो मुटु फुट्ला झैँ हुन्छ ।’
काठमाडौँमा बसेर कलेज पढ्दै गर्दा औराही महोत्तरीकी नेहा चौधरी र रामगोपालपुर महोत्तरीका डा.पंकज चौधरीबीच प्रेम भयो । ३ वर्ष प्रेम सम्बन्धमा परेपछि उनीहरूले विवाह गर्ने निर्णय गरे र उनीहरूको निर्णयमा परिवारले पनि साथ दियो । केटा पक्षले डाक्टर पढाउन लाग्ने सबै खर्च केटी पक्षले बेहोर्नुपर्ने सर्त राख्यो । सुरुमा केटी पक्षले आनाकानी गरे पनि छोरीको खुशीको लागि उनीहरूले उक्त प्रस्ताव स्वीकार गरे र ५१ लाख रुपैयाँ नगद दिए ।
२०७७ फागुन ६ गते उनीहरूको इन्गेजमेन्ट भयो र त्यसको एक वर्षपछि २०७८ फागुन २५ गते उनीहरूको विवाह भयो । विवाह भएर घरमा भित्रिएको केही दिन उनले श्रीमान् र सबै परिवारको माया पाइन् । सुरुमा उनलाई श्रीमानले सँगै काठमाडौँ लाने र उतै लगेर पढाउने भनेका थिए । विवाहको केही समयपछि पंकजले नेहालाई घरमा नै छाडेर काठमाडौँ फर्किए ।
काठमाडौँ फर्किएपछि पंकजले गर्ने व्यवहारमा केही फरक पाएको नेहा बताउँछिन् । ‘सुरुमा एकदमै माया गर्ने उहाँले मलाई गर्ने व्यवहार नै अलग भयो, मैले पटक पटक फोन गर्दा पनि उहाँले रेस्पोन्स नै गर्नु हुन्न थियो । उहाँले रेस्पोन्स गरे पनि घरपरिवारले मलाई उहाँसँग बोल्न नै दिनुहुन्न थियो ।’ उनले भनिन् ।
‘मलाई सासू ससुरा र नन्दले एकदमै फरक व्यवहार देखाउन थाल्नुभयो, मैले पंकजलाई फोन गर्दा पनि कति गरेकी भनेर गाली गर्ने, कुट्ने गर्नुहुन्थ्यो । सासुले त झन् के बोलेको ? के बोलेकी भनेर फोन नै खोस्नु हुन्थ्यो । मेरो श्रीमान्, मेरा पनि केही व्यक्तिगत कुरा हुन्छन्, तर घरपरिवारले मलाई एक्लै बोल्न दिनुभएन । अझ, राती हामी फोनमा कुरा गर्छौँ भनेर मेरो सासू आमा पनि मसँग नै सुत्नुहुन्थ्यो ।’ नेहा भन्छिन् ।
घरमा घरेलु हिंसा बढेपछि मैले पनि काठमाडौँ जाने जीत गरे । मैले काठमाडौँ जाने कुरा गर्दा पंकजले, ‘तेरो बाउले घर किन्दिएको छ र यहाँ बस्नलाई ? घर किनिमाग अनि आएर बस’ भन्नुभयो । चिकित्सक जस्तो प्रतिष्ठित पेसामा रहेको व्यक्तिले यस्तो कुरा गर्दा म छाँगाबाट खसे झैँ भए ।
एमबिबिएस सकेर एमडी गरिरहेका डा. पंकजले आमा र बहिनीको कुरा सुनेर कैयौँ पटक आफूलाई कुट्ने गरेको नेहा बताउँछिन् । बहिनी रेखा चौधरी र सासुआमा गोदावरी देवी चौधरीले अनेकन् कुरा लगाएर आफ्नो श्रीमानलाई एकोहोरो बनाएको नेहाको आरोप छ ।
ससुराले पनि पुरै शंका गर्ने गरेको नेहा बताउँछिन् । आफूलाई घरबाट बाहिर निस्कन नदिने, श्रीमानसँग पनि फोनमा बोल्न नदिने, कपडा फेर्न ढोका लगाउँदा पनि अनेकन् गाली गर्ने गरेको उनको आरोप छ । उनले भनिन्, ‘मैले मेरो कोठाको चुकुल कहिल्यै लगाउन पाइन, सासू आमाले कोसँग के बोल्दै छेस, मेरो छोरालाई के पोल लगाउँदै छेस, मेरै अगाडि लुगा फेर भनेर अनेकन् गाली गर्नुहुन्थ्यो । उहाँहरूले गरेको गाली सुन्न सक्ने पनि हुँदैनथ्यो ।’
काठमाडौंबाट घर आएको बेला सासू र नन्दको कुरा सुनेर श्रीमानले कुट्ने गरेको नेहाको आरोप छ ।
श्रीमानको कुटाइबाट नेहा बिरामी भइन् । उनको पिसाबबाट लगातार रगत बग्न थाल्यो । उनलाई अस्पताल लानुको सट्टा कति बिरामी हुन्छे भनेर मजाकमा उडाएको उनको गुनासो छ । घर पक्षले उपचार नगरेपछि नेहाको आमा र भाइ आएर उनलाई मेडिकल लगेको र त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरको अस्पताल लगेर औषधी उपचार गराएको उनको भनाइ छ ।
अस्पतालमा ३ दिन भर्ना भएर उनको उपचार भयो । पीडा खप्न नसकेपछि उनी प्रहरीको शरणमा पुगिन् । प्रहरीले कात्तिक ४ गते उनको उजुरी दर्ता गरेको पत्र केटिएम दैनिकले प्राप्त गरेको छ । कुटपिट गर्ने पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले घरेलु हिंसाको मुद्दा दर्ता गरेको थियो ।
‘‘कात्तिक ४ गते उजुरी आएको र उजुरीका आधारमा अनुसन्धान गरेर पंकजलाई हिरासतमा राखेर मुद्दा चलाएको प्रहरी स्रोत बताउँछ । उनी तारेकमा छुटेका हुन् भने मुद्दा चलिरहेको छ ।
प्रहरीकोमा पनि उनलाई सबैले पागल भएकी छे भनेर अभद्र व्यवहार गरेको ससुराले मनपरी भनेको उनको आरोप छ ।
सम्बन्धबिच्छेदको मुद्दा दर्ता
नेहाले आफू घरेलु हिंसामा परेको उजुरी दिएपछि केटा पक्षले पनि कात्तिक ४ गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि जाहेरी दिएको छ । केटा पक्षको सम्पत्तिमा पनि बराबर अधिकार लाग्छ भनेर ससुरा बुवाले सबै सम्पत्ति आफ्नो छोरीको नाममा नामसारी गरेको नेहाको आरोप छ ।
यसरी दिनरात कुटाइ खाएर बाँच्नुभन्दा त सम्बन्ध विच्छेद नै ठिक हो तर पनि आफूले माया गरेको मान्छेलाई बिर्सन कहाँ सजिलो छ र ? नेहाले भनिन् ।
मलाई अनेकन् आरोपहरू लगाएर सम्बन्ध विच्छेद गर्न दबाब दिइरहनु भएको छ । मैले सम्पत्ति खोज्छु भनेर छोरीको नाममा नामसारी गर्नुभयो, मेरो खुशी नै खोसेर लगिसकेपछि त्यो सम्पत्तिको के काम ? मैले सम्पत्ति हैन, माया प्रेम, स्नेह, विश्वास चाहेको थिए ।
सामाजिक सञ्जालमा चर्चा
शुक्रवार नेहा चौधरीको फेसबुक आइडीबाट म अन्यायमा परे, मेरो श्रीमान् र उहाँको परिवार मिलेर म माथि अन्याय गर्नुभयो । मैले सबैतिर गुहारे पछि सामाजिक सञ्जाल मार्फत न्याय खोजेको छु । मलाई न्याय दिलाइदिनुहोस् भनेर पोस्ट आयो । उक्त पोस्ट केही बेरमा नै सामाजिक सञ्जालमा भाइरल भयो । फेसबुकमा ‘जस्टिस फर नेहा’ अभियान चलाइएको छ। विभिन्न पेज तथा गुप्रहरूमा नेहाको लागि न्याय मागिएको छ भने दाइजो प्रथा निर्मूल गर्नको लागि चाल्नु पर्ने कदमहरूको बारेमा पनि बहस हुन थालेको छ ।
मधेस आयोगको चासो
महोत्तरीको औरही निवासी नेहा चौधरीलाई दाइजोको निहुँमा उनको परिवारका सदस्यले दिएको यातनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेसी आयोगले पत्राचार गरेको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई-मधेसमा दाइजोले गर्दा घरेलु हिंसाको समस्या यथावत् रहेको बताउँदै यसलाई जरै देखि निर्मूल गर्नु पर्ने बताउँछन् । डा. दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभएसम्म यस्ता समस्याले समाजमा कयौँ चेलीबेटी यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको बताएका छन्।
दाइजोको विषयमा बहस
दाइजो नदिएको कारण आफूलाई घरेलु हिंसा गरेको कुरा सार्वजनिक भएपछि दाइजोको विषयमा बहस हुन थालेको छ । केहीले दाइजो लिने र दिने दुवै अपराधी रहेको बताउँदै आएका छन् भने केहीले केटा पक्षलाई दोष दिइरहेका छन् । दाइजो प्रथाले विकराल रूप रहेको भन्दै दाइजो प्रथाको अन्त्य गर्न सामाजिक सञ्जालमा माग गरिरहेका छन् ।
दाइजोको कारण कयौँ चेलीहरूले घरेलु हिंसा सहेको र मर्न बाध्य पारिएका केही उदाहरणहरू हाम्रो सामु नै छन् भन्दै सामाजिक अभियन्ताहरूले यो विरुद्धमा आवाज उठाइरहेका छन् ।
सँगै काम गर्ने साथी भन्छन् पंकज सम्पर्कविहीन
नेहाको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि पंकज सम्पर्कविहीन भएका छन् । उनको टेलिफोन अफ छ भने अस्पताल पनि गएका छैनन् ।
केटिएम दैनिकको सम्पर्कमा आएका उनका साथी भने नेहाको कुरामा सत्यता नभएको बताउँछन् । नाम नखुलाउने सर्तमा उनले भने, 'म पंकजलाई ३ वर्षदेखि नै चिन्छु । पंकज उसको श्रीमती र समाचारहरूमा आरोप लगाएजस्तो खराब पनि छैन ।'
उनीहरूको प्रेम विवाह भएको हैन, मागी विवाह भएको हो । मलाई २ महिना अगाडि मात्र पंकजले उसको श्रीमती र घरपरिवारको बारेमा बताएको थियो । पंकजको अनुसार उनीहरूको सम्बन्धमा दरार पैसाको कारणले आएको हैन ।
'पंकज र उसको परिवारलाई म राम्रोसँग चिन्छु । समाचारहरू र नेहाले एकोहोरी केटालाई मात्र गाली गरिरहनु भएको छ । गल्ती दुइटै परिवारको छ । यो भित्रका कहानीहरू निकै दर्दनाक छन् जुन उनीहरू दुईलाई मात्र थाहा छ ।' उनले भने ।
घरेलु हिंसाको विकराल रूप
विगत पाँच वर्षको तथ्याङ्कलाई प्रदेशगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी घरेलु हिंसाका घटना मधेस प्रदेशमा भएको देखिन्छ । विगत पाँच आर्थिक वर्षमा त्यहाँ १९ हजार ७२० वटा घटना घटेको देखिन्छ ।
सबै जिल्लाका मानिसहरू बसोबास गर्ने काठमाडौँ उपत्यकामा मधेस प्रदेशपछि धेरै घटनाहरू दर्ता हुने गर्दछन् । चेतनाको स्तर विकास भएर पनि होला काठमाडौँ उपत्यकामा घरेलु हिंसाका घटना बढी दर्ता हुने गरेको पाइएका हुन् । यहाँ १३ हजार ७५६ वटा घटना घटेका छन् ।
लुम्बिनी प्रदेश तेस्रो स्थानमा छ त्यहाँ पाँच वर्षमा १० हजार ९३५ वटा घटना हुँदा काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक बाग्मती प्रदेशमा छ हजार ८७५ घटना दर्ता भएका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने चार हजारको हाराहारीमा घटनाहरू दर्ता भएका छन् ।
बलात्कारका घटना प्रदेश १ मा बढी देखिएता पनि महिला हिंसाका घटना भने प्रदेश १ मा सबैभन्दा कम छन् । कर्णाली प्रदेशमा कुनै पनि आर्थिक वर्षमा १ हजार वा सो भन्दा माथिको सङ्ख्या घटना दर्ता भएको देखिँदैन ।
के हो घरेलु हिंसा ?
२०६६ साल वैशाख १४ गते प्रमाणीकरण भएको घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ का अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले आफ्नो घर परिवारमा भएको अर्को सदस्य दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ भनेर स्पष्ट रूपमा व्याख्या गरेको छ । आफ्ना घर परिवारका सदस्य भन्नाले घरमा काम गर्ने कामदार देखि लिएर धर्मपुत्र वा धर्मपुत्री वा आश्रित व्यक्तिलाई समेत समेट्छ ।
“शारीरिक यातना” भन्नाले कुटपिट गर्ने, गैर कानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्याउने, तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्कने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य सम्झनु पर्छ ।
“मानसिक यातना” भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, सांस्कृतिक, प्रथा, परम्पराका आधारमा भेदभाव गर्ने, रूप, रङ्ग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनु पर्छ र सो शब्दले मानसिक वा भावनात्मक चोट पुग्न सक्ने अन्य कुनै काम समेतलाई जनाउँछ ।
नोट : यो समाचार नेहा चौधरीसँग गरिएको कुराकानीमा आधारित हो । केही तथ्यहरू पुष्टि गर्नको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, डा.पकंज चौधरीका सहकर्मीसँग समेत कुराकानी गरेका हौं । हामीले डा. चौधरीका घरपरिवारसँग सम्पर्क गर्न प्रयास गरेतापनि सफल हुन सकेनौँ ।