काठमाडौं । दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको उच्च अदालत जनकपुरधामकी सूचना अधिकारी नूतन झाले बताइन् । अदालतको उक्त आदेशसँगै उनी आज धरौटी बुझाएर रिहा हुने बुझिएको छ ।
श्रीमती नेहा चौधरीले आफूमाथि श्रीमानले दाइजोको विषयलाई लिएर पटकपटक कुटपिट गर्ने गरेको भन्दै गत कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाको उजुरी दिएकी थिइन् ।
तीन वर्षको प्रेम पश्चात् २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । विवाहको चार महिनापछि दुवैबीच दरार उत्पन्न भएको थियो ।
नेहाले दाइजोमा पंकजले काठमाडौँमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छिन् । पंकजले भने आफूमाथि लगाएको आरोप निधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।
नेहाले श्रीमान् पंकज र परिवारका सदस्य विरुद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, माना चामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
कात्तिकमा पक्राउ परेका चौधरी केही समयमा छुटेका थिए भने श्रीमतीले पुन: उजुरी दिएपछी उनलाई मंसिरको तेस्रो साता घरैबाट पक्राउ गरिएको थियो ।
सो मुद्दामा पक्राउ परेका पंकज पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए । पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० देखि जलेश्वर कारागारमा छन् ।
प्रेम सम्वन्ध अनि विवाह
काठमाडौँमा बसेर कलेज पढ्दै गर्दा औराही महोत्तरीकी नेहा चौधरी र रामगोपालपुर महोत्तरीका डा.पंकज चौधरीबीच प्रेम भयो । ३ वर्ष प्रेम सम्बन्धमा परेपछि उनीहरूले विवाह गर्ने निर्णय गरे र उनीहरूको निर्णयमा परिवारले पनि साथ दियो । केटा पक्षले डाक्टर पढाउन लाग्ने सबै खर्च केटी पक्षले बेहोर्नुपर्ने सर्त राख्यो । सुरुमा केटी पक्षले आनाकानी गरे पनि छोरीको खुशीको लागि उनीहरूले उक्त प्रस्ताव स्वीकार गरे र ५१ लाख रुपैयाँ नगद दिए ।
२०७७ फागुन ६ गते उनीहरूको इन्गेजमेन्ट भयो र त्यसको एक वर्षपछि २०७८ फागुन २५ गते उनीहरूको विवाह भयो । विवाह भएर घरमा भित्रिएको केही दिन उनले श्रीमान् र सबै परिवारको माया पाइन् । सुरुमा उनलाई श्रीमानले सँगै काठमाडौँ लाने र उतै लगेर पढाउने भनेका थिए । विवाहको केही समयपछि पंकजले नेहालाई घरमा नै छाडेर काठमाडौँ फर्किए ।
काठमाडौँ फर्किएपछि पंकजले गर्ने व्यवहारमा केही फरक पाएको नेहा बताउँछिन् । ‘सुरुमा एकदमै माया गर्ने उहाँले मलाई गर्ने व्यवहार नै अलग भयो, मैले पटक पटक फोन गर्दा पनि उहाँले रेस्पोन्स नै गर्नु हुन्न थियो । उहाँले रेस्पोन्स गरे पनि घरपरिवारले मलाई उहाँसँग बोल्न नै दिनुहुन्न थियो ।’ उनले केटिएम दैनिकसँग भनिन् ।
‘मलाई सासू ससुरा र नन्दले एकदमै फरक व्यवहार देखाउन थाल्नुभयो, मैले पंकजलाई फोन गर्दा पनि कति गरेकी भनेर गाली गर्ने, कुट्ने गर्नुहुन्थ्यो । सासुले त झन् के बोलेको ? के बोलेकी भनेर फोन नै खोस्नु हुन्थ्यो । मेरो श्रीमान्, मेरा पनि केही व्यक्तिगत कुरा हुन्छन्, तर घरपरिवारले मलाई एक्लै बोल्न दिनुभएन । अझ, राती हामी फोनमा कुरा गर्छौँ भनेर मेरो सासू आमा पनि मसँग नै सुत्नुहुन्थ्यो ।’ नेहा भन्छिन् ।
घरमा घरेलु हिंसा बढेपछि मैले पनि काठमाडौँ जाने जीत गरे । मैले काठमाडौँ जाने कुरा गर्दा पंकजले, ‘तेरो बाउले घर किन्दिएको छ र यहाँ बस्नलाई ? घर किनिमाग अनि आएर बस’ भन्नुभयो । चिकित्सक जस्तो प्रतिष्ठित पेसामा रहेको व्यक्तिले यस्तो कुरा गर्दा म छाँगाबाट खसे झैँ भए ।
एमबिबिएस सकेर एमडी गरिरहेका डा. पंकजले आमा र बहिनीको कुरा सुनेर कैयौँ पटक आफूलाई कुट्ने गरेको नेहा बताउँछिन् । बहिनी रेखा चौधरी र सासुआमा गोदावरी देवी चौधरीले अनेकन् कुरा लगाएर आफ्नो श्रीमानलाई एकोहोरो बनाएको नेहाको आरोप छ ।
तीन वर्षको प्रेम सम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । नेहाका परिवारले दाईजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताउँदै आएको छ ।