दाइजोकै निहुँमा श्रीमतीमाथि घरेलु हिंसा गरी घर निकाला गरेको आरोप लागेका महोत्तरीको रामगोपालपुर ५ का डा.पंकज चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का पंकजलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।
इजलास नं. २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिए । बिहीबार अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो ।
अदालतको आदेश लगत्तै प्रहरीले उनलाई कारागार पठाएको छ । नेहाले घरमै पुगेर धर्ना बसेपछि डा. पंकजलाई मंसिर २७ गते साँझ महोत्तरी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी औरही–१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् । तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो ।
नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् । उनले आफूले विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।
नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
डा. पंकजका बुवा, आमा र परिवारका अन्य सदस्यमाथि पनि मुद्दा छ । तर उनका अन्य सबै सदस्य फरार छन् । घरमा ताला लगाएर उनीहरु सम्पर्क विहिन बनेपछि पक्राउ पर्न नसकेको प्रहरीको भनाई छ ।
र यो पनि पढ्नुहोस् :
काठमाडौँमा घर नदिएको भन्दै डाक्टरले गरे श्रीमतीमाथि कुटपिट !