महोत्तरीको रामगोपालपुर नगरपालिकाले दाइजोको निहुँमा श्रीमानबाट कुटपिटमा परेको भनिएकी नेहा चौधरी र कुमारी आमा नामले परिचित निहारिका राजपुतबाट पाँच लाख रुपैयाँ असुल्ने भएको छ ।
बुधवार र बिहीबारका दिन चौधरी र राजपुतको अगुवाइमा रामगोपालपुर नगरपालिकामा भएको तोडफोड, आगजनी र ढुगामुढावाट सार्वजनिक सम्पत्तिको क्षति भएको भन्दै नगरपालिकाकाले उनीहरूबाट रु पाँच लाख असुल्ने निर्णय गरेको नगरप्रमुख रामदुलाल साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्तरी जिल्लाको औरही नगरपालिका-१ की नेहा चौधरीको नौ महिना अगाडि रामगोपालपुर नगरपालिका-५ का पंकज चौधरीसँग भएको विवाह पश्चात् नेहा चौधरीलाई निजको श्रीमान् पंकज चौधरीले शारीरिक यातना, पटक पटक कुटपिट गरेको तथा घरबाट निकालेको विषयबारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा मुद्दा दायर भई सो मुद्दा छिनोफानोको लागि प्रक्रियामा रहेको छ ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटना वारे नगरपालिकाको न्यायिक समितिमा लिखित उजुरी नआएको अवस्थामा नेहा चौधरी र निहारिका राजपुतको अगुवाइमा विभिन्न ठाँउहरुवाट उश्रृंखल युवाहरूलाई जम्मा गरी करिब ५०० जनाको जमातले नगरपालिकाको प्रशासनिक भवनमा तोडफोड, आगजनी र ढुंगामुढा गरेका हुन् ।’
नगरपालिकाले सरकारी कार्यालयमा तोडफोड र आगजनी जस्ता अराजक घटना प्रति खेद प्रकट गर्दै घटनामा संलग्न नेहा चौधरी, निहारिका राजपुत लगायत तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई सरकारी सम्पत्ति तोडफोड, आगजनी गरी नोक्सान गरेको मुअव्जा असुल उपर गराई दोषीहरूलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी, समक्ष निवेदन दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै बिहीबारै नेहा र निहारिकालाई नियन्त्रणमा लिएको डिएसपी सन्तोष पोखरेलले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेको दुवै जनालाई प्रहरी जिल्ला प्रहरी कार्यालय जलेश्वरमा राखिएको छ। अनुसन्धानको लागि पकंज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेकै अवस्थामा नेता र निहारिका कसैको उक्साहट र योजनामा सरकारी सम्पत्तिहरूमा तोडफोड गराएको भन्दै पक्राउ गरिएको डिएसपी पोखरेलले बताए ।