नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं नै रोजेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका थापा सर्लाहीबाट उम्मेदवार हुने भन्दै प्रचार गरिएपछि आफ्नो ठाउँ काठमाडौं भएको र चुनाव लड्ने बेला आफ्नो ठाउँ छोडेर अन्त जाने कुरा हल्ला मात्र भएको भन्दै सचिवालयले त्यसको खण्डन गरेको छ ।
थापालाई क्षेत्रीय समितिले सर्लाहीको क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवार सिफारिस गरेको थियो । त्यस क्षेत्रबाट यसअघि अमरेशकुमार सिंह निर्वाचित भएका थिए ।
थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो ।
स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महामन्त्री थापालाई काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेका थिए ।
महामन्त्री थापाले काठमाडौं ४ नै रोजेका छन् । उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा यही क्षेत्रबाट चुनिएका थिए ।