चामलको कालोबजारी गरेको अभियोगमा गौर नगरपालिका-१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३ सय ४२ बोरा लोकल चामल, १ सय २० थान खाली बोराहरू र १ थान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको हो ।
उक्त पसल सिलबन्दी गर्नुका साथै उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।
हिजोमात्रै प्रहरीले ललितपुर महानगरपालिका–३ मा स्थित सेन्चुरी फुड प्याकेजिङ र प्रोसेसिङ उद्योगमा प्रहरीले छापा मारेको थियो । राजेन्द्र प्रसाद अग्रवालको नाममा दर्ता भएको यस उद्योगले एकातर्फ पानीले भिजेको बिग्रिएको चामल एकै ठाउँमा प्याकिङ् र अर्कोतर्फ फोहोरयुक्त चामल मिसाएर प्याकिङ गर्ने गरेको खुल्न आएको छ । उक्त स्थानमा बाढिले भिजेको चामल करिब २२ सय बोरा, बिग्रेको चामल २ हजार ३७३ बोरा बरामद गरिएको छ ।
गत शुक्रबार भक्तपुरको भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’मा आज छापा मारी रु १४ लाख बराबरको विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको थियो ।
भिडिओ