चितवनको भरतपुर विमानस्थलको टावर नजिक बिजुलीको तारमा करेन्ट सर्ट भई एक्कासि लागेको आगो नियन्त्रणमा आएको छ । चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए। आइतबार बिहान ३:४० बजेको समयमा भएको आगलागीबाट बिजुलीको तार, टेलिफोनको तार र इन्टरनेटको तारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उनका अनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो। बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ। आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको हो ।
सो स्थानमा आगलागी हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा आइतबार बिहान ३:५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको अधिकारीले बताए ।