आफ्नै १२ वर्षीया छोरीलाई तीन वर्षयता पटक–पटक करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेका छन्।
इलाका प्रहरी कार्यालय सुरुङ्गाले उनलाई शुक्रबार घरबाटै पक्राउ गरेको हो। पीडित बालिकाले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरिक्षक(डिएसपी) रुगम कुँवरले जानकारी दिए।
उनले केटिएम दैनिकसँग भने, ‘बालिकाले दिएको किटानी जाहेरीको आधारमा पीडकलाई पक्राउ गरेका ल्याएका हौं। बालिकाले जाहेरी दिएकै दिन पक्राउ गरेका छाैं। तीन वर्षसम्म डर–त्रासको कारण खुल्न नसकेकी बालिकाले बयान बाबुले आफुलाई बलात्कार गरेकाे दिएकी छन्। अहिले हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेका छौं।’
ती बालिकाले आफू कक्षा ४ मा पढ्दादेखि नै बाबुले करणी गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसअघि विभिन्न प्रकारको यौन दुर्व्यवहार गर्ने गरेको जनाएकी उनले पछिल्लो समय भने आफूमाथि पटक–पटक बलात्कार गरेको बताएकी छिन्।
पीडित बालिका अहिले कनकाई माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै आएकी छन्। आफ्ना सहपाठीसँग बाबुले बलात्कार गर्ने गरेको कुरा खुलाए पछि घटना बाहिरिएको थियो। साथीहरूसँगै मिलेर उनी आफैँले इलाका पुगेर बाबुविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
ती बालिका ६ वर्षको उमेरदेखि बाबु र कान्छी आमासँग बस्द आएकी थिइन्। उनकी आमा भने छुट्टिएर इलाम बस्दै आएकी थिइन्। सुरुङ्गा पढ्दादेखि ती पुरुषसँग प्रेममा परेकी उनले सानै उमेरमा विवाह गरेकी थिइन्।
पीडित बालिकाको मावलाका हजुरबुबाले भने, ‘विवाहलगत्तै श्रीमानले अरू केटीहरूसँग सम्बन्ध राख्न थालेपछि विवाद भयो। दुई–चारवटा काण्ड छोरीले सहेरै बसिन्। पछि हामीले विदेश पठायौँ। नातिनी भने हामीसँग बस्न मानिनन्। अहिले बाबुको सिकार भइन्।’
पीडित बालिकाको हजुरबुवाका अनुसार ६ वर्षयता उनकी आमा छुट्टिएर बस्न थालेकी हुन्। उनीहरूबीच सम्बन्धविच्छेद भइसकेको छैन तर महिलाले पनि अर्को विवाह गरेको बुझिएको छ ।
पीडकले अर्को विवाह गरेर सन्तान जन्माइसकेका छन्। पीडित बालिका आफ्ना बाबुले सञ्चालन गर्दै आएको चिया पसलमा काम गर्दै विद्यालय पढ्दै आएकी थिइन्। हजुरबुबा–हजुरआमाका साथ बस्दै आएकी ती बालिकामाथि बाबुले पटक–पटक बलात्कार गरे पनि उनी डर–त्रासका कारण आफूमाथि भएको घटनाबारे खुल्न सकेकी थिइनन्।
ती बालिकाले आफैं गएर आफूमाथि भएको घटना प्रहरीसमक्ष राखेकी थिइन् । पछि घर–परिवारले फकाएपछि उनले बयान फेरेकी छन्। उनका अनुसार पछिल्लो पटक उनीहरू ती बालिकालाई फकाएर मुद्दा फिर्ता लिन इलाका प्रहरी कार्यालय धाइरहेका छन्। बालिकालाई काम गर्न नलगाएर फकाउँदै उनीहरूले बाबुविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिइरहेको र उनले पनि प्रहरीसमक्ष बयान परिवर्तन गरेकाे बुझिएकाे छ।
यता, डिएसपी कुँवरले भने बालिकाको पहिलो बयानलाई नै आधार मानेर अदालत पठाइएका कारण फेरिएको बयानले अनुसंधानमा फरक नपार्ने बताए। ‘हामीसमक्ष बयान फेरिँदा केही फरक पर्दैन,’ उनले भने, ‘अब अदालतमै फेरिन् भने चाहिँ भन्न सकिँदैन। अनुसन्धान भइरहेको छ।’