राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठनहरुले पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको बिरोध गर्दै अहिले साँझ राँके जुलुस प्रदर्शन गरेका छन् ।
काठमाडौंको बिशालनगरबाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो । बालुवाटार राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रिय सदस्य पुरु दाहालले जानकारी दिए ।
जुलुसमा मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट ,दलाल , घुसखोरलाई कार्बाही हुनुपर्ने जस्ता नारा लागेको थियो ।
युबा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्य वृद्धि फिर्ता नलिए बिरोध थप चर्काएर लैजान्ने बताए ।
जुलुशलाई कटवाल लगायत युबामोर्चाका नेता गृश्म बिक्रम मल्ल, विद्यार्थी संगठनका चेतराज सिंह,सचिन अधिकारी लगायत नेताले नेतृत्व गरेका थिए भने पार्टीका उपाध्यक्ष लाक्पा तामाङ लगायत पार्टी नेताहरु समेत जुलुसमा सहभागी थिए ।
आजै काठमाडौं त्रिचन्द्र कलेजअगाडि एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको भारी मुल्य वृद्धिको बिरोधमा गरिएको मसाल जुलुसमा प्रहरीको गाडीसमेत तोडफोड भएको छ ।
अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको नेतृत्वमा निस्किएको बिद्यार्थीको बिरोध जुलुसले प्रधानमन्त्री शेर बहादुर देउवा र आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु को पुत्ला समेत जलाएका छन् ।