
चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक महिलाको मङ्गलवार निधन भएको छ ।
चितवनको राप्ती नगरपालिकाका पूर्ण बहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएको भनिएकी महिलाको उपचारको क्रममा निधन भएको हो ।
काठमाडौँबाट चितवन भन्डारास्थित भाउजूको घर जान लागेकी २७ वर्षीय महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पुर्याइदिन्छु भनेर उनलाई बन्धक बनाएको आरोप छ ।
लामो समयसम्म आफ्नै घरमा राखी सो महिलालाई पटक पटक बलात्कार गरेका घलानले चरम यौन हिंसाका कारण रक्तस्राव भएपछि भरतपुर अस्पतालमा उपचारका लागी ल्याएका थिए । आफू श्रीमान् हुँ भन्दै भरतपुर अस्पतालमा उपचारका लागी भर्ना गरेको भए पनि अत्यधिक रक्तस्रावका कारण महिलाको मृत्यु भएको हो ।
घटनाको विषयमा जानकारी पाएपश्चात् मृतक महिलाको भाउजू भीम कुमारी तामाङ्गले प्रहरीलाई खबर गरेको र घलान हाल प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
मृतक महिलाको भाउजू भीम कुमारी तामाङ्गको आर्थिक अवस्था समेत अत्यन्त नाजुक रहेकाले महिलाको दाहसंस्कार र पीडकलाई कानुनी दायरा ल्याउने विषयमा मङ्गलवार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी सहित, प्रहरी प्रमुख र महिला अधिकारकर्मीहरूबिच छलफल भएको छ ।
छलफल पश्चात् मृतकको दाहसंस्कारका लागी अस्पतालमा आधारित एकद्धार सङ्कट व्यवस्थापन प्रणालीबाट १० हजार र जिल्ला प्रहरी कार्यालय अन्तर्गत लैङ्गिक हिंसा सञ्जाल मार्फत १० हजार रुपैयाँ नगद मृतकको भाउजूलाई हस्तान्तरण गरिएको छ । त्यस्तै दाहसंस्कारमा लाग्ने अन्य खर्चको व्यवस्थापनका लागी प्रशासनले समेत सहयोग गरेको छ ।
यसैबिच घटनाको दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै यस्ता घटना दोहोरिन नदिनका लागी सचेत रहने विषयमा सम्बन्धित सरोकारवाला निकायहरूले माग गरेका छन् ।