नेपाल सरकारका पूर्व सहसचिव नागेन्द्र झा सर्लाहीको बलरा नगरपालिकाको मेयरमा पराजित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका झाले मेयरका प्रत्याशीहरूमध्ये चौथो स्थान प्राप्त गरे। निर्वाचन आयोगका अनुसार, उनले २४५५ मत प्राप्त गरे।
झाले भन्दा झण्डै दोब्बर मत प्राप्त गरेका माओवादी केन्द्रका रामा शंकर प्रसाद कुशवाहा बलराको प्रमुख पदमा निर्वाचित भए ।
कुशवाहा ४ हजार ६४३ मतका साथ निर्वाचित हुँदा निकतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अभय कुमार सिंहले तीन हजार ६३१ मत पाए भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका कौशल किशोर सिंहले दुई हजार ६८१ मत ल्याए ।
पर्साको प्रमुख जिल्ला अधिकारी हुँदा आफ्नो नागरिकताको जन्ममिति फेरेको, किर्ते कागजात तयार पारेको लगायतको आरोप झामाथि लागेको थियो ।
नागेन्द्र झा जागिरबाट अवकाश भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालका अध्यक्षका रुपमा कार्यरत रहेका छन् । उनी अध्यक्ष रहेको नागरिक अस्पतालका ६ जनालाई नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा २०७८ माघ १८ गते महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नागेन्द्र झाका छोरा प्रशन्नकुमार झा पनि थिए ।