प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो ।
तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन् ।
‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने ।
सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तर, प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २: ४५ बजे अवतरण गर्ने समय तालिका छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै ले आपत्ति जनाएका हुन् । उनले देउवाको भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै प्रश्न समेत उठाएका छन् ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।