राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । उनले दोस्रोपटक अध्यादेश जारी गरेकी हुन् ।
नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको हो । मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।
फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि ‘ड्राइरन’ (यात्रुविना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अन्योलमा परेको थियो । रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ ।
रेल सञ्चालनका लागि माघमा रेलले विभिन्न पोस्टमा ६५ जना कर्मचारी भर्ना गरिएको थियो । तर, रेल सञ्चालन नभए पनि उनीहरू अहिले बसेर नै तलब बुझ्ने गरेका छन् ।
‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले चैत ३ गते भनेका थिए, ‘भाडादर पनि निर्धारण भइसकेको छ । तर, रेलसम्बन्धी ल्याएको अध्यादेश निष्क्रिय भएपछि नियमति सेवा दिने अझ अन्योलमा परेको थियो।’
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । २ असोज २०७७ मा नेपाल सरकारले भारती रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो ।