बलात्कारको आरोपमा पक्राउ परेका दोलखाका विनोद गुरुङलाई बचाउन नेताको दबाब आएपछि पीडित परिवार विक्षिप्त बनेको छ ।
जोरपाटीबाट २२ वर्षीय महिलालाई ललाइफकाई गरी अपहरण शैलीमा चाबहिलको एक होटेलमा राखी रेड्बुलमा बेहोस हुने विषादी खुवाएर बलात्कार गरेको आरोपमा प्रहरी वित्त गौशलाले गुरुङलाई पक्राउ गरेको समाचार केटिएम दैनिकले सार्वजनिक गरेको थियो ।
महिलालाई साँगा भन्ज्याङ चोकको आसपास अरनिको हाइवे किनारमा झाडीमा फालेको अवस्थाबाट आफन्त र प्रहरीले उद्धार गरेपछि गुरुङ पक्राउ परेका थिए ।
पीडक गुरुङलाई बचाउन नेकपा एमाले सैलुङ गाउँ कमिटीको अध्यक्ष थिर बहादुर मोक्तान, पूर्वमन्त्रि पार्वत गुरुङ र उनको दाजु हिमाल गुरुङ लागेपछि पीडित परिवार विक्षिप्त बनेको हो ।
पीडित परिवार उजुरी दिन जाँदा पनि हिमाल गुरुङले पटक पटक फोन गरेर उजुरी दर्ता नगर्न आग्रह गरेको पीडित पक्षको भनाइ छ ।
पीडित महिलाको बुबा भन्छन्, ‘मेरो छोरीमाथि अन्याय भएको छ । अहिले आएर उसलाई नै अनेक प्रकारको आरोप प्रत्यारोप र लाञ्छना लगाइरहेको छन् । मेरो छोरी प्रेममा थिई भने, झाडीमा लगेर फाल्छ र ? मेरो छोरीलाई न्याय दिलाउन म अन्तिम समयसम्म सम्म लड्छु । नेता, मन्त्री जो सँग लड्नु परे नि लड्छु तर मेरो छोरीले न्याय पाउनै पर्छ ।’
पीडक गुरुङ परिवारले विवाह गर्ने, पैसा दिने तथा लिभिङ टुगेदरमा बसेको थियो भनेर अफवाह फैलाइरहेको पीडित पक्षको आरोप छ । यो विषयमा कुरा गर्न हामीले पटक पटक हिमाल गुरुङसँग सम्पर्क गर्ने कोसिस गर्यौँ तर उनी सम्पर्कमा आउन चाहेनन् ।