हालै नामकरण गरिएको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगन्जलाई प्रदेशको राजधानी नबनाएको भन्दै मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–१ का २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको हो ।
मङ्गलबार दिउँसो साढे २ बजे वीरगञ्ज–८ घण्टाघरबाट अन्दाजी सय जनाको संख्यामा रहेका नेपाली काग्रेस पार्टीको नगरस्तरीय कार्यकर्ताहरूले प्रदेश नं. २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप मोटरसाइकल र्याली निकालेका थिए ।
सो र्यालीले नगर परिक्रमा गर्ने क्रममा ३:२० बजेतिर र्यालीसँगै मोटरसाइकलमा आएका पटेलले वीरगन्ज–१३ तेजारथ टोलमा रहेको मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा एक्कासि ढुङ्गा प्रहार गरेको थियो ।
मोटरसाइल जुलुस निकालेका कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा बोकेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका थिए ।
ढुङ्गा प्रहारबाट मुख्यमन्त्री राउतको घरको सिसा फुट्नुका साथै सामान्य क्षति भएको प्रहरीको भनाइ छ । त्यसपछि उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।