पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ ।
महिला हिंसा, तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २७ पुस २०६५ सालमा हत्या गरिएको थियो । स्थानीय रेडियो टुडे एफएमका कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो ।
पत्रकार सिंहको १३औं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषालगायत विभिन्न पत्रकार संघसंगठनले विभिन्न कार्यक्रम गरी आज मनाउँदैछन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दिउँसो १ बजे आफ्नै सभाहलमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादवलगायत केही धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घटनामा संलग्न अन्य केही नेपाली तथा भारतीय नागरिक अझै कानुनी दायरामा आउन सकेका छैनन् ।