प्रदेश नं. १ सरकारले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन बुधबार सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिएन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । खतराको घन्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हामी सजग हुनुपर्ने अवस्था आएको छ । नयाँ भेरिएन्ट देखा परेको अवस्थामा सरकारी संयन्त्रमात्र होइन सबै प्रकारका संयन्त्र परिचालित हुनुपर्छ ।’ मुख्यमन्त्री राईले अप्ठ्यारो परिस्थितिमा सबैको सहयोगको अपेक्षा पनि गरेका छन् ।
यस्तै, सामाजिक विकास मन्त्री जयराम यादवले कोभिडविरुद्ध मन्त्रालयबाट भए गरेका कामबारे जानकारी दिए । उनले नयाँ भेरिएन्ट फैलन नदिन भिडभाड हुने कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए । मन्त्री यादवले त्यसका लागि प्रदेशस्तरीय राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिडविरुद्धको अभियानमा महानगरपालिका प्रदेश सरकारसँगै रहने उल्लेख गरे । प्रदेश १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले कोभिडसँग सम्बन्धित सूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदैसही सूचनाले नागरिक आश्वस्त हुने भएकाले चुस्त सूचना प्रणालीमा जोड दिए ।