
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) धेरैका लागि नौलो थियो । थोरै समयमात्र लकडाउन हुने अपेक्षा गरिएको भएपनि लामो समय घरभित्रै थुनिँदा मानिसहरूले विभिन्न कठिन परिस्थितिको सामना गर्नुपर्यो । कसैले बेरोजगार र आर्थिक समस्याको सामना गर्दा धेरै महिलाले घरेलु हिंसा खेप्नुपर्यो । कोही हिंसा खेप्दै बसिरहे, कसैले जसोतसो सार्वजनिक गरे भने कोही आत्महत्या गर्ने निधोसम्म पुगे ।
कोभिडकै कारण उजुरी गर्ने निकाय बन्द हुँदा पनि धेरै जना हिंसा खेपेरै बस्न बाध्य भए । घरभित्रै सीमित हुँदा आर्थिक समस्या आए, रोजगारीको समस्या आयो, अभावको स्थिति सिर्जना भयो भने बालबालिका विद्यालय जानबाट बञ्चित भए । यसबीचमा हिंसा बढेपनि उजुरी गर्नका लागि सरोकारवाला निकाय वा प्रहरी प्रशासनसम्म पहुँच हुन नपाएका कारण पीडित अझ धेरै पीडित हुनुपर्यो ।
प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि (चैत ११ देखि जेठ ३२) भित्र देशभर महिला बालबालिका विरुद्ध एक हजार नौ सय ४६ वटा आपराधिक घटना भएका छन्। सबै भन्दा बढी आत्महत्या र त्यसपछि घरेलु हिंसाका घटना भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि (चैत ११ देखि जेठ ३२) भित्र देशभर महिला बालबालिका विरुद्ध एक हजार नौ सय ४६ वटा आपराधिक घटना भएका छन्।
सुनसरीमा प्रहरीसमक्ष मात्र कोभिड महामारीका बेला सात सय ९९ वटा महिला हिंसासम्बन्धी ठाडो उजुरी परे । जसमध्ये ६ सय ५९ उजुरी प्रहरी चौकीभित्रै मिलापत्र भयो भने बाँकी ४० वटा उजुरीहरू अदालतमा पुगे । आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ९९ वटा महिला हिंसासम्बन्धी ठाडो उजुरी परेकोमा सबै उजुरी प्रहरी चौकीभित्रै मिलापत्र गरिएको थियो । चालु आर्थिक वर्षको हालसम्म दुई सयवटा उजुरी आएकोमा एक सय ६० उजुरीमा सहमति भएको छ । बाँकी ४० वटा भने अदालतमा अनुसन्धानका क्रममा रहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा एक सय आठवटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् भने जबर्जस्ती करणी उद्योगका २४ वटा मुद्दा परेका छन् । यस्तै बहुविवाहका २६ मुद्दा दर्ता भएका छन् भने बालविवाहका तीन, मानव बेचबिखनका आठ, बोक्सी आरोपको एक, अपहरण तथा शरीर बन्धकका सात, बालबिज्याइँको एक, बाल यौन दुर्व्यवहारका ११, अप्राकृतिक मैथुनको एउटा मुद्दा दर्ता भएका छन् ।
यस्तै, चालु आवमा भने जबर्जस्ती करणीका ३१ वटा मुद्दा दर्ता हुँदा जबर्जस्ती करणी उद्योगका १२, बहुविवाहका १२, बालविवाहका एक, मानव बेचविखनका तीन, अपहरण तथा शरीर बन्धकका दुर्ई, बालबिज्याइँको एक, बाल यौन दुर्व्यवहारका ६ र एसिड आक्रमणको एउटा मुद्दा दर्ता भएका छन् ।
यो तथ्याङ्क हेर्दा सुनसरीमा महिला हिंसाका घटना बढेको छँदै र त्यसमाथि पनि बालिकामाथि हुने यौन दुर्व्यवहारको घटना बढेको देखिन्छ । यस्तै, अघिल्लो आर्थिक वर्ष र चालु आवको चार महिनामा गरी १७ जना बालिकामाथि यौन दुर्व्यवहार भएको तथ्याङ्कमा उल्लेख छ । त्यसबाहेक जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका अधिकांश घटनामा पनि बालिका परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार अघिल्ला वर्ष नियमित विद्यालय जाने गरेका बालिकाहरू लकडाउनको समयमा घरमै सीमित हुँदा उनीहरूमाथि यौन हिंसा भएका घटना प्रहरीसमक्ष आएको उनको भनाइ छ । अघिल्ला वर्षहरूमा भन्दा लकडाउनमा महिला हिंसाका घटना बढेको निष्कर्ष दिँदै उनले सो समय कम उजुरी आउनेगरेको बताए । ‘अघिल्ला वर्षहरूमा अलि कम उजुरी आउँथे, तर लकडाउनमा धेरै हिंसाका घटनाहरू हामीसँग ठोक्किए’, उनी भन्छन् ।
घरेलु हिंसाका घटना बाहिर आउने क्रम पनि बढ्यो
पहिलेपहिले घरभित्रको कुरा बाहिर लैजानुहुँदैन भन्ने सामाजिक मानसिकताले महिलाहरू हिंसालाई आफैँभित्र दबाएर राख्ने गर्थे । जसले गर्दा घरेलु हिंसाका घटना बाहिर आउन सकेका थिएनन् । तर महिलाहरूमा हिंसासम्बन्धी चेतनाको विकास भएसँगै यस्ता घटना बाहिर आउन थालेको डिएसपी कार्की बताउँछन् । प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको कार्कीको भनाइ छ । ‘विगतका वर्षहरूमा घरेलु हिंसाका उजुरी खुलेर आउँथेनन्’, उनी भन्छन्, ‘हामीले सूचना पाएपछि घरमै जाँदासमेत पीडितहरू खुल्थेनन् । घरको सानो समस्या हो आफैँ मिलाउँछौँ भन्थे । तर अहिले घरेलु हिंसाका घटनाहरू बाहिर खुल्नेक्रम पनि बढेको छ ।’
यता, महिला अधिकारकर्मी मञ्जिता उपाध्याय महिला हिंसासम्बन्धी चेतना बढ्दै गएमा हिंसापीडित बाहिर आउने तथा यस्ता घटनाहरू कमी हुने बताउँछिन् । ‘समाज शिक्षित भए पनि चेतनाको अभाव हुँदा सामाजिक मूल्यमान्यतामै रहँदै आएको भन्ठानेर विभेद, हिंसा बढिरहेको छ’, उनी भन्छिन्, ‘शिक्षित भएपछि वा हिंसासम्बन्धी चेतना भएपछि भने हिंसापीडित खुलेर बाहिर सार्वजनिक हुन थालेका छन् । यसले पनि हिंसा बढेको देखिएको हो ।’
लामो समय लकडाउन हुँदा घरभित्र नै बस्नुपर्ने बाध्यताका कारण महिला तथा बालिका हिंसाको सिकार बनेको बताउँदै उनी भन्छिन्, ‘लकडाउनमा आर्थिक र रोजगारीका समस्या आउँदा अभावको स्थिति सिर्जना भयो । बालबालिका विद्यालय जानबाट बञ्चित भए । त्यसबीचमा उनीहरू हिंसा, बलात्कार र यौन दुर्व्यवहारको सिकार बने । मौका ढुकेर बस्नेहरू कतिपयलाई यो उपयुक्त अवसर पनि भयो । त्यसैले पनि महिला हिंसाका घटना बढेको देखिन्छ ।’
प्रतिकारमा उत्रन नसक्ने भएपछि यौनिक कार्यमा बालिकाको प्रयोग
लडकाउनको समयमा बालिकामाथि आफन्तद्वारा नै करणीमा उत्रिएको घटना थुप्रै सार्वजनिक भए । स्कुल जान नपाएपछि घरमै सीमित बनेको अवस्थामा कमजोर आँकेर यौनिक कार्यमा बालिका प्रयोग भएको मनोविद् गोपाल ढकाल बताउँछन् । विशेषगरी बालिकाहरूलाई फकाउन सजिलो हुने प्रलोभनमा पार्न सकिने, करकाप गर्दा मान्न सक्ने, धम्क्याउन सकिने, प्रतिवाद गर्न नसक्ने भएका कारण कमजोर आँकेर बालिकालाई ‘यौन पिशाच’ आफ्नो सिकार बनाउने गरेको उनको भनाइ छ ।
‘बालिकालाई फकाउन, बहकाउन, करकापमा पार्न सकिने भएका कारण उनीहरू बलात्कारको सिकार हुन्छन । त्यसबाहेक बालिकासँग सम्पर्क राख्दा आनन्द आउने, यौनसम्बन्धी रोग निको हुने भ्रम पलाउने भएका कारण पनि उनीहरूमाथि बलात्कारका घटना बढ्ने गरेको छ,’ उनी भन्छन् ।
त्यसबाहेक किशोरी उमेरमा अपरिपक्व अवस्था भएका कारण यौनका बारेमा जिज्ञासा राख्ने, विपरीत लिङ्गप्रति आकर्षित हुने हुँदा त्यसको फाइदा यौन पिशाचले उठाउन सक्ने देखिएको छ । ‘भर्जिन केटीसँग सम्बन्ध राख्दा मजा आउँछ यसैले पनि एकदमै परिपक्व भएका पुरुषले यौन चाहना पूरा गर्न त्यस्ता किशोरीसँग सम्बन्ध राख्छ भने त्यसलाई हामी पिडोफेलिया भन्छौँ । योचाहिँ यौन विचलनको रोग हो, त्यस्ता रोगीले आफ्नो यौन चाहना परिपूर्ति गर्नका लागि सानो उमेरका बालिका बलात्कार गर्ने क्रम बढेको हो ।’