
झापाको बुद्धशान्ति गाउँपालिका-४ मा बोली र सुनाइजन्य अपाङ्गता (बहिरा) युवतीमाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ ।
यो घटना मङ्सिर ३ गते अर्थात् चुनावको अघिल्लो दिनको हो । सार्वजनिक भएको एक भिडिओमा पीडित युवतीको आमाले छिमेकी राई थरका एक व्यक्तिले करणी गरेको बताएकी छन् । राई थरका ती व्यक्तिलाई अर्धनग्न अवस्थामा भेटेको एक प्रत्यक्षदर्शी महिलाले उक्त भिडिओमा बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गुरु तिम्लिसिनाका अनुसार प्रहरीले यस विषयमा अनुसन्धान जारी राखेको छ । शनिवार बिहानसम्म आरोपित पक्राउ परेका छैनन् । बुद्धशान्ति गाउँपालिका-४ का वडाध्यक्ष शेर बहादुर राय कानुनी प्रक्रिया सुरु गरिएको बताए । केटिएम दैनिकसँग उनले भने ‘स्वास्थ्य परीक्षणमा ती युवतीमाथि करणी भएको रिपोर्ट आएको बुझेको छु ।’
आरोपित व्यक्तिका छोराछोरीको बुवा रहेको र श्रीमती वैदेशिक रोजगारको लागि विदेशमा रहेको खुलेको छ । चुनावको कारणले गर्दा आरोपित व्यक्ति फरार भएको स्थानीयले बताएका छन् । केटिएम दैनिकको सम्पर्कमा आएका एक स्थानीय व्यक्तिका अनुसार घटना भएपछि सुरुमा गाउँमै मेलमिलाप गर्ने भनियो जसले गर्दा चुनावको भोलिपल्ट मात्र प्रहरीमा किटानी जाहेरी पर्यो । चुनावसम्म गाउँमै रहेका आरोपित प्रहरीमा किटानी जाहेरी परेपछि फरार भएका छन् । उनले भने, ‘आरोपित व्यक्ति र पीडितको घर एकआपसमा टाँसिएको छ भने शारीरिक अपाङ्ता भएकी ती युवती राम्रोसँग हिँडडुल गर्न र आफै खाना खान समेत सक्दिनन् ।’
आज विश्वभर ३१ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचान, मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यका सबै क्षेत्रमा विभेदरहित अवसर प्रदान गर्नुपर्ने संविधानको मार्गदर्शन रहेको छ ।
तर अपाङ्गता भएका बालिकाहरूमाथि हुने गरेका घटनाहरू विरलै मात्रा सञ्चारमाध्यममा आउने गरेका छन् । केही समयअगाडि दोलखामा सुनाई तथा बोलीजन्य अपाङ्गता भएकी एक युवतीमाथि जबरजस्ती करणी भएको थियो ।