
काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा एक महिला घरनजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
अन्दाजी २५ वर्ष उमेरकी दीपा पराजुली थापा घरनजिकको रुखमा झुण्डिएको अवस्थामा मङ्गलवार बेलुका मृत अवस्थामा फेला परेको प्रहरी वृत्त थानकोट प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले केटिएम दैनिकलाई बताए ।
मृतक महिलाको करिब सात महिला अघि सोही स्थानका आयुष भनिने सुन्दर थापासँग विवाह भएको थियो । माइती पक्षले विवाह पछि मृतकलाई दाइजोको विषयमा निरन्तर मानसिक यातना दिइँदै आएको दाबी गरिरहेका छन् ।
मृतकका बुबा रतन पराजुली आफ्नी छोरीलाई हत्या गरेर रुखमा झुन्ड्याइएको बताइरहेका छन्। मृतकको शव पोस्टमार्टमको लागि महाराजगन्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।
पाण्डेले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार मृतक महिलाको श्रीमानको कलकीमा पसल छ । घटना भएको दिन घरमा सासू ससुरा पनि थिएनन् । श्रीमान् बिहानै पसल आएका थिए । उनले घरमा फोन गर्दा सुरुमा फोन उठेन । त्यसको करिब २/३ घण्टापछि फोन गर्दा पनि फोन नउठेपछि उनले छिमेकीलाई फोन गरेर, ‘मेरो घरको फोन उठेन कोही पनि छैन कि क्या हो ?’ गएर हेरिदिनु भनेर पठाएका थिए ।
छिमेकी घरमा जाँदा कोही पनि नभएको बताएपछि उनी दिउँसो तीन बजेतिर पसलबाट घर आइपुगे । घरमा श्रीमती नदेखेपछि गाउँका मानिससहित खोज्दै जाँदा श्रीमती घरनजिकको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
पाण्डेले भने, ‘माइती पक्षले हत्या गरेर रुखमा झुण्डाएको दाबी गर्दै प्रहरीमा उजुरी दिन खोज्नुभएको थियो हामीले आत्महत्या दुरुत्साहन मुद्दा हाल्नुहोस् पोस्टमार्टम रिपोर्ट नआईकन कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन सक्दैनौ भनेपछि उहाँहरूले किटानी जाहेर नदिईकन सामान्य उजुरी दिनुभएको छ ।’
मृतकका आफन्तले घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । यसैबीच, आफन्तले बुधवार अपराह्न ५ बजे त्रिभुवन राजमार्ग अवरुद्ध पारेका थिए।
चन्द्रागिरी नगरपालिकाको गुर्जुधारमा उनीहरूले दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका थिए ।
विवाह गरेका महिलाहरूले झुण्डिएर आत्महत्या गरेका धेरै घटनाहरू सार्वजनिक भइरहन्छन् । नेपालको कानुनले विवाह गर्नुअगाडि वा विवाह गरेपछि महिलालाई दाइजोको निहुँमा हेला गर्ने मानसिक तनाव दिने कार्यलाई अपराध मान्दै सजाय समेत तोकेको छ ।
कानुन भन्छ: दाइजो लिनु अपराध हो
नेपालको कानुनले दाइजो लिनुलाई अपराध मानेको छ । मुलुक अपराध संहिता २०७४ को दफा १७४ मा ‘विवाहमा लेनदेन गर्न नहुने’ शीर्षक अन्तरगत दाइजो लिनुलाई दण्डनीय अपराध मानेको छ । उक्त दफाको उपदफा (१) मा लेखिएको छ ‘आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन हुँदैन ।’
उपदफा (२) मा लेखिएको छ उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

कानुनले विवाह मात्र हैन विवाहपछि पनि श्रीमती वा उनका नातेदारलाई दाइजो नदिएको कारण हैरान पार्ने, सताउने वा कुनै अमानवीय कार्य गर्न नपाइने उल्लेख गरेको छ । उपदफा (३) मा लेखिएको छ कसैले विवाह गरी सकेपछि उपदफा (१) बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन ।
विवाह गरिसकेपछि दाइजोको निहुँमा श्रीमती वा नातेदारलाई हैरानी पार्ने, सताउने वा अपमानजन्य व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । कसैले दाइजोमा कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्ने कानुनमा उल्लेख छ ।