
हाम्रो समाजले महिलालाई कमजोर नजरले हेर्छ । हो, शारीरिक रूपमा कमजोर होलान् महिलाहरू, तर समान अवसर पाएमा पुरुषभन्दा अगाडि बढ्ने ल्याकत राख्छन् महिला । यसकै ज्वलन्त उदाहरण मान्न सकिन्छ, रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवाकी आयुषा कँडेललाई । आयुषा विगत दुई वर्षयता समाजले कमजोर आँकेका महिलामाथि हुने हिंसाविरुद्ध बोल्दै आएकी छन् र कुनै पनि प्रकरणमा पीडित बनेकी महिलालाई न्याय दिलाउन अनवरत रूपमा लागिपरेकी छन् ।
कसैको घरपरिवारमा भएको आत्महत्याको घटना होस् वा अन्यायपूर्ण भएको हत्या नै वा त पारिवारिक बेमेलले निम्त्याएका कुनै प्रकरण नै होस् । रुपन्देही जिल्लाभर यस्ता हत्या, आत्महत्या र त्यसले निम्त्याएको कलहका लागि न्यायको आवश्यकता परेमा आयुषाको नाम सबैभन्दा अगाडि आउँछ । विगतका केही प्रकरणमा न्याय दिलाउन पहल गरिदिने एक अभियन्ताको रूपमा आयुषाको पनि नाम जोडिएको हो ।
पीडितको सहरा बनेर उभिन चाहने उनी न्यायका लागि सरोकारवाला निकायको ढोका ढकढकाउने कामले परिचित छिन् । न्यायका लागि सरोकारवाला निकायलाई दबाब दिन सहजीकरण गर्ने उनी अगाडि बढेरै प्रदर्शन ¥यालीको नेतृत्व गर्न पनि माहिर छिन् । कहिलेकाँही भने पीडकको आँखाको तारो पनि बन्ने गरेकी छन् । पीडकले उनलाई ‘ज्याद्री’ अभियन्ता भन्ठान्लान्, किनकि आयुषाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउने उद्देश्य राख्छिन् । तर उनमा यसको डर छैन, बरु पीडितका लागि बोल्नुपर्छ भन्ने उर्जा छ ।
‘महिलालाई हरेक विषयमा पछि राख्न खोजिन्छ, उनीहरू बोल्न सक्दैनन् भनेर हेपाहा प्रवृत्तिका पुरुषहरू अगाडि बढ्न खोज्छन्,’ उनी भन्छिन्, ‘तर समाजले कमजोर ठान्ने महिला पनि निर्णायक भूमिकामा पुग्न सक्छ भन्ने धेरैले बिर्सन्छन् । मैले न्यायका लागि बोल्न नसक्ने महिलाहरूको सहराको रूपमा काम गरिरहेको छु । आगामी दिनमा पनि विशुद्ध रूपमा यसरी काम गर्ने लक्ष्य लिएको छु ।’
कुन–कुन प्रकरणमा आयुषाको भूमिका ?
आयुषाले हालसम्म थुप्रै प्रकरणमा न्यायका लागि लड्ने काम गरेकी छन् । अरूलाई न्याय दिलाउनका लागि नजिकका मान्छे हुनुपर्दैन, आर्थिक रूपमा सम्पन्न हुनु पर्दैैन, जिल्लाभित्रका मात्र हुनुपर्दैन । देशभरकै जो–जो पीडित छन्, न्याय नपाएको गुनासो लिएर प्रशासन धाइरहेका छन् र जसले आयुषाको खाँचो महसुस गर्छन्, उनीहरूको सहारा बन्न सक्छिन् उनी । बाँकी रह्यो अर्थको कुरा । धेरै मानिसहरूमा भ्रम हुन्छ कि, यस्ता अभियन्तालाई ‘खर्चपानी’ दिएर मात्र अन्यायका विरुद्ध लडाउन सकिन्छ वा बोलिदिएबापत पैसा तिर्नुपर्छ ।
यस्तो भ्रम चिर्दै उनी भन्छिन्, ‘न्यायका लागि पहल गरिदिने काम मेरो हो । कसैबाट आर्थिक सहयोग लिने गरेकी छैन । न्याय मागिदिने काममा कसैबाट पैसा नलिने मेरो अडान छ । बरु आफू चल्नका लागि मैले फेन्सी सरसमानको व्यवसाय गरिरहेको छु । कोटिहवामा मैले एउटा फेन्सी पसल खोलेकी छु । एउटा शैक्षिक संस्था (ट्युसन सेन्टर) पनि चलाउँछु ।’
उनले तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी प्रकरणमा पनि न्यायका लागि बोल्न कुनै कसर छोडिनन् । गत भदौ २० गते बिहान झुण्डिएको तर पासो काटेको अवस्थामा मृत फेला परेकी सीताका परिवारलाई न्याय दिन उनी अन्त्यसम्मै लडिरहिन् । सीता भण्डारी मृत्यु प्रकरणमा ११ लाखको अक्षयकोष स्थापना गर्न दुवै परिवारलाई सहमत गराउन पनि उनको योगदान हात छ ।
यस्तै, गत माघमा बलात्कारमा परेकी तिलोत्तमा नगरपालिका–१३ बबनीकी पाँच वर्षीया बालिकाको विषयमा पनि उनले न्यायका लागि ढोका ढकढकाइन् । अपराह्न ५ बजेतिर घरबाट पसल जान निस्किएकी बालिकी राति नजिकैको खोल्सामा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले तिलोत्तमा नगरपालिका–१३ बबनी बस्ने होमबहादुर बिकलाई पक्राउ गरेको थियो । उक्त प्रकरणमा उनले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने, न्यायका लागि हुने र्याली प्रदर्शनको नेतृत्व गर्ने अनि अगाडि बढेर बोलिदिने काम गरेकी थिइन् ।
यसैगरी, अमेरिका जानुभन्दा दुई दिनअघि कोठामा मृत भेटिएकी बुटवल–१२ ढवाहा टोलकी २७ वर्षीया अनिता रेग्मी प्रकरण, विश्व बराल प्रकरण, समीक्षा ठकुरी प्रकरणलगायत घटनामा उनले प्रत्यक्ष रूपमा पीडितका लागि बोलिदिएर सहयोग गरेकी थिइन् । रुपन्देहीभित्र मात्र नभएर उनलाई बाहिरी जिल्लाबाट पनि न्यायका लागि पहल गरिदिन आग्रह गर्ने गरेका छन् । हालैमात्र उनले स्याङ्जाको एउटा प्रकरणमा न्यायका लागि सहजकर्ताको भूमिका निभाएकी थिइन् । उनी प्रत्यक्ष स्याङ्जा पुग्न नपाएपनि उनले घरमै बसेर सरोकारवाला निकायसँग समन्वय गरेकी थिइन् ।
न्यायका लागि लड्ने कामको निरन्तरता
दुई वर्षअगाडि उनले थालेको पीडितका न्याय माग्ने अभियानले विश्राम पाएको छैन । सहयोगका लागि पीडित परिवारले ठुलो अपेक्षा राखेर सम्पर्क गर्ने भएका कारण उनले आफू रहँदासम्म यसलाई नरोक्ने प्रण गरेकी छन् । यस अभियानलाई निरन्तरता दिनकै लागि कानुन जान्न उनले ‘ल’ पढ्न थालेकी छन् । भलै अभियानमा उनी एक्ली छन्, वास्तविक पीडितको लर्को उनीसँगै छ । पीडामा परेका व्यक्तिसँगको साथ, सहयोग र समन्वयमा उनी अगाडि बढिरहने बताउँछिन् ।
‘मैले सरोकारवाला निकायलाई न्याय दिलाउनका लागि पहल गर्ने हो, दबाब दिने हो,’ उनी भन्छिन्, ‘न्याय दिलाउन नियोजित ढिलासुस्ती गरेको अवस्थामा प्रदर्शन गरेरै दबाद दिने हो । यसका लागि परिवारका आफन्त, महिला अधिकारकर्मी अनि गाउँलेहरूको सहयोग लिन्छौँ ।’
आत्महत्या, हत्या अनि विशेषगरी पीडित नारीमाथि हुने अन्यायविरुद्ध बोल्नेगरेको सुनाउँदै आयुषा भन्छिन्, ‘हामी संस्थागत छैनौँ तर जसले अन्याय परेको भन्दै मलाई बोलाउनु भएको छ । त्यही पुगेर सहयोग गर्ने गरेको छु । हुन त जो–सुकै पीडित परिवारका लागि पनि अगाडि गएर लडिदिने गरेको छु । तर कोही नारीमाथि जब प्रश्न उठ्छ वा कोही दिदी–बहिनी पीडित हुनुहुन्छ भने उहाँहरूलाई सहयोग गर्छु । सबै नारीमा अन्यायविरुद्ध लड्न सक्ने साहस हुँदैन । म उहाँहरूका लागि लड्छु ।’ पीडितसँगको सङ्गतले न्यायका लागि पहल गर्ने काम सुरु गरेको उनको भनाइ छ ।