
सिरहाको धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा पतिले ३० वर्षीया गर्भवती पत्नीसँग रक्सीका लागि पैसा मागे । पत्नीसँग पैसा थिएन र दिइनन् । पैसा नदिएको भन्दै उनका आफ्नै पतिले पेट्रोल खन्याएर आगो लगाए र अस्पताल लगे । अन्त्यमा उनले ज्यान गुमाइन् । उनको मात्र ज्यान गएन, उनीसँगै पेटमा भएको बच्चाले पनि अकालमा ज्यान गुमाउनु पर्यो ।
यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता घटना समाजमा अनेकौँ छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ठाँटामा पतिको कुटाइबाट मारिएकी मनिषा साउद, रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्ले डाडाटोल बस्ने बाटुली तामाङ, तेह्रथुमको म्याङलुङ नगरपालिका–९ पाटीगाउँमा बस्ने दिलकुमारी लिम्बू, झापाको दमकमा पतिको दर्दनाक कुटाइबाट ज्यान गुमाएकी घनादेवी आचार्य, सुनसरीको धरान उपमहानगरपालिकामा –१५ की छुङ्कु मगर राई अन्य घटनाका हुन्, जसले समाज शिक्षित रहँदा पनि महिलामाथि हुने हिंसाका घटना यथावत छन् भन्ने पुष्टि गर्छ ।
माथिका प्रतिनिधिमूलक घटनामा महिलाका लागि आफ्नै पति वा आफन्त काल बनेर आएका छन् । त्यसबाहेक पनि समाजमा अनेकौँ घटना छन्, जसमा महिला अरू पराइबाट हिंसाको सिकार बनेका छन् । कतिले कार्यालयमा यौन दुर्व्यवहार सहेका छन्, कोहीले गुरुबाटै यौन हिंसाको सिकार हुनु परेको छ । कति सहपाठीबाटै तेजाब आक्रमणको सिका भइरहेका छन् भने कतिले अप्राकृतिक यौन दुर्व्यवहारबाट गुज्रिनु परेको छ ।
हामीले हालै महिला हिंसाविरुद्धको १६ दिने अभियान मनायौँ । यदि, केटिएम दैनिकले हरेक दिन प्रकाशन गरेका १६ वटै भागहरू छुटाउनु भएको छैन भने त्यहाँ उल्लेखित घटनाहरूले जनाउँछन्, महिला हिंसाविरुद्धको अवस्था कस्तो छ भनेर । कस्ता प्रकृतिका घटनाहरूले समाजमा जरा गाडेर बसेका छन्, आपराधिक व्यक्तित्वहरू कस्ता सोचबाट ग्रसित छन् भन्ने कुरा जनाउने प्रयास हामीले गरेका छौँ । त्यसबाहेक पनि छन्, महिला हिंसाविरुद्ध अभियान चलाउने अभियन्ताहरू: रुबी खान, आयुषा कँडेल लगायतका कथा ।
यस्तै, समाजशास्त्री डाक्टर चन्द्र उपाध्याय, मनोविद गोपाल ढकाल, महिला अधिकारकर्मी मञ्जिता उपाध्यायका विश्लेषण, जातीय विभेदविरुद्धको आन्दोलनमा सहयोग पुर्याउन अन्तरजातीय विवाह गरेका तीन जोडीको धारणालाई हामीले ती भागहरूमा समेटेका छौँ । यो त एउटा मिडियाले कभरेज गर्न सक्ने महिला हिंसाविरुद्धको एउटा प्रयास थियो । यसलाई आगामी दिनहरूमा पनि फलो अप गरेर निरन्तरता दिने प्रण गर्छौँ ।
तर, हाम्रो प्रणझैँ महिला हिंसा निरूपणकै लागि खुलेका निकायहरूले पनि देखावटी नभई साँच्चिकै प्रभावकारी भूमिका खेल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । पछिल्लो समय हुने गरेका ‘ढोँगी’ कामको पनि हामीले निगरानी गरिरहेकै छौँ । महिला हिंसा निरुपणको अभियान चलाउने एनजियो–आइएनजियोले पाँचतारे होटेलमा भव्य तामझाम गरी आयोजना गरेको कार्यक्रमहरूले हाम्रो ध्यान खिचिरहेको छ । यस्ता संस्थाहरूले सच्चिन जरुरी छ ।
हुन त त्यस्ता संस्थाका अभियान सधैँ नारा र भाषणमा मात्र सीमित हुने कुरा हामीले बुझेका छौँ । त्यस्ता संस्थाहरूलाई हाम्रो प्रश्न छ: महिला हिंसाविरुद्धको १६ दिने अभियानको उपलब्धि के ?