
काठमाडौँ जिल्लाको टोखा नगरपालिका-१०मा रहेकी श्री मनोहर माध्यमिक विद्यालयको प्रधानाध्यापकले सोही विद्यालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
छात्राको अभिभावकले प्रहरी वृत्त, महाराजगञ्जमा सोमबार सोही विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईविरुद्ध किटानी जाहेरी दिएको र उक्त जाहेरी दर्ता भएको प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत डिएसपी अंगुर जिसीले केटिएम दैनिकलाई बताए ।
जाहेरीमा प्रधानाध्यापक भट्टराईले छात्रालाई गत भदौदेखि नै विद्यालय समयमा र सो भन्दा पनि पहिले पटक पटक बोलाउने कोही अन्य विद्यार्थी भए छिटो छिटो बाहिर पठाउने र निज बालिकालाई कहिले ढोका लगाएर, कहिले खुल्लै अवस्थामा निज बालिकाको ढाड छुने, मुसार्ने, ब्रा को लक खोलिदिने गरेको उल्लेख छ ।
साथै उनले छात्रालाई, तिमीले यौन सम्पर्कको अनुभव तथा मज्जा लिएकी छौं की छैनौ, तिम्रो त यौन सम्पर्क गर्ने उमेर हो भन्दै यौन सम्पर्क प्रति आकर्षित गर्ने जस्ता जघन्य क्रियाकलाप गर्दै आएको उल्लेख गरिएको छ ।
उनले ती छात्रालाई प्रधानाध्यापकको कार्यकक्षमा बोलाइ करणी गर्ने मनसायले ढाड सुमसुम्याउने, ब्रा को लक खोलिदिने जस्ता क्रियाकलाप गरी बाल यौन दुरुपयोग गरेको हुनाले हदैसम्मको कारबाहीको माग गर्दै जाहेरी दर्ता भएको हो ।
राष्ट्रिय शिक्षक सङ्गठनले निकाल्यो विज्ञप्ति
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, काठमाडौँले आज एक विज्ञप्ति जारी गर्दै विद्यालयका शिक्षकहरू माथि अनावश्यक लाञ्छनाहरू लगाउने, विद्यालय संस्थामा बाधा पुऱ्याउने जस्ता कार्यहरू भइरहेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ जिल्ला समिति अध्यक्ष डिल्ली प्रसाद शर्मा ढकालले जारी गरेको विज्ञप्तिमा शिक्षकहरू माथि श्रृङखलावद्ध रूपमा लगाइएका अनावश्यक लाञ्छना र आक्रमण तुरुन्त बन्द गर्न मा गरिएको छ ।
साथै विज्ञप्तिमा कहीँ कतैबाट गल्ती र कमजोरी भएका स-प्रमाण भएमा दोषी उपर कानुन सम्मत कार्यवाही हुनु पर्ने कुरामा आफूहरू दृढ रहेको समेत जनाइएको छ ।

पाँच वर्षमा ८६ छात्राहरू शिक्षकबाटै बलात्कृत
विगत पाँच आर्थिक वर्षमा ८६ जना छात्राहरू शिक्षकबाटै जबरजस्ती करणीमा परेको तथ्याङ्क नेपाल प्रहरीसँग छ । आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ मा सम्ममा सात प्रदेश र काठमाडौँ उपत्यकाका तीन जिल्लामा गरी ८६ जना छात्राहरू आफू शिक्षकबाट करणीमा परेको भन्दै उजुरी दिएका छन् ।
एक आर्थिक वर्षमा १० देखि १५ वटा उजुरी आउने भएता पनि आ.व ०७६/७७ मा भने ४५ वटा उजुरी आएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
यो पाँच वर्षको अवधिमा प्रदेश नम्बर १ मा पाँच वटा, मधेस प्रदेशमा आठ वटा, काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशमा १५ वटा, गण्डकी प्रदेशमा १८ वटा, लुम्बिनी प्रदेशमा चार वटा, कर्णाली प्रदेशमा १५ वटा, सुदूरपश्चिम प्रदेशमा पाँच वटा र काठमाडौँ उपत्यकाका तीन जिल्लामा १६ वटा उजुरी परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।