
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७, पिप्रहवा आफ्नै घरमा मृत फेला परेकी अफसरुला खाँको घटनाले अर्को मोड लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा अफसरुलाको मृत्युलाई लिएर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भई जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भइसकेको छ ।
तर मृतकका बुबा, आमा अफसरुलालाई उनको घरपरिवारले मारेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गराउन सङ्घर्ष गरिरहेका छन् । उनीहरू कर्तव्य ज्यान मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालयदेखि जिल्ला अदालत र वकिलसम्म दिनहुँ धाइरहेका छन् ।
यसमा साथी संस्था, साना हात, पश्चिम तारा, एवम् अधिकारकर्मीहरू पनि लागि परेका छन् । अधिकारकर्मीहरू अपसरुलालाई कुटपिट गरी मारिएको र सो पश्चात् झुण्डाइएको दाबी गर्छन् ।
मृतक का बुबा मो.बहाब खाँ पहिला प्रहरीले आफूखुसी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको र अहिले भने जे मुद्दा ल्याए पनि दर्ता गर्दिने भन्ने गरेको बताउँछन् । तर जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भइसकेकाले कर्तव्य ज्यान मुद्दा दर्ता गराउन उनलाई धेरै नै हम्मे-हम्मे परेको छ ।

घटना के हो ?
कात्तिक १६ गते बुधवार बिहान ६ बजे अफसरुला आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव बेडमा खुट्टाले टेकेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी बताउँछन् ।
प्रहरीले मृतक अफसरुलाको ढाड, पिठ्युँको बीच भागमा हत्केलाले हानेको जस्तो निलो चार वटा डामहरू रहेको उल्लेख गरेको छ ।
प्रहरीले मृतक अफसरुलाको बुबा मो. बहाबले दिएको जाहेरीका आधारमा अफसरुलाका श्रीमान् मेराज शेष र श्रीमानका दाइ (जेठाजु) आलमिन शेषसँग लिएको बयानमा उनीहरू सो दिन बिहानै ५ बजे धान काट्न खेतमा गएका थिए । बयानमा अफसरुलाका श्रीमान् मेराजले १५ गते बेलुका दुईजनाबीच झगडा भएको र आफूले अफसरुलालाई सामान्य कुटपिट गरेको उल्लेख छ ।
सोपश्चात् प्रहरीले कात्तिक १७ गते अफसरुलाको घटनामा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरायो । तर मृतक अफसरुलाका बुबा मो. बहाब खाँ भने छोरीलाई उनको घरपरिवारले दाइजोको निहुँमा मारेको आरोप लगाउँदै आएका छन् ।
घरपरिवारले ज्यान लिएको आरोप
मृतक अफसरुलाले १२ पास गरेकी थिइन् । मो.बहाब खाँका अनुसार केटा पक्षले मेराजको पढाई स्नातकोत्तरसम्म रहेको भन्दै झुक्क्याएर विवाह गरेका थिए । उनीहरूको दुई वर्षअघि विवाह भएको थियो र हाल उनको ९ महिनाको छोरा रहेको छ ।
सो विवाहमा २५ लाख रुपैयाँ खर्च भएको मृतकका बुबा मो.बहाब खाँले बताए । सो २५ लाखमध्ये २० लाख रुपैयाँको नगद तथा विभिन्न सामान दाइजोको रूपमा केटा पक्षलाई दिइएको मो. बहाब खाँले बताए ।
सोपश्चात् पनि धेरै पटक छोरी अफसरुलाको माध्यमबाट उनका घरपरिवारले थप दाइजोका लागि दबाब दिने गरेको मो.बहाब खाँले बताए । दाइजोका कारण धेरै पटक मृतक अफसरुला सो घरमा बस्न नसक्ने स्थिति भएको बताउँदै आएको मो.बहाब खाँ बताउँछन् । तर आफूले सम्झाइ बुझाइ घर पठाउने गरेको उनले बताए ।

अफसरुलाको मृत्युको एक दिन अघि कात्तिक १५ गते बेलुका ७:३० बजे पनि छोरीसँग कुराकानी भएको बाबु बताउँछन् । लगभग १५ मिनेट लामो कुराकानीमा मृतक छोरीले बुबासँग आफूलाई मार्न सक्ने कुरा बताएको उनले सुनाए ।
उनले भने, ‘बेलुका कुरा हुँदा छोरीले आफूलाई मार्छन् भन्ने कुरा गरेकी थिई । फोनमा कुरा गर्दागर्दै उसले बोल्न छोडी तर त्यहाँ झगडा भइरहेको आवाज सुनिएको थियो । छोरी रोई रहेको जस्तो लागेको थियो ।’
त्यसपछि मो.बहाब खाँले कात्तिक १६ गते बिहान छोरीको अवस्थाबारे जानकारी आएको बताए ।
अधिकारकर्मी रुबी खान भन्छिन् : दाइजोको नाममा पटक पटक कुटपिट भएको देखिन्छ

महिला अधिकारकर्मी रुबी खान मृतक अफसरुलालाई दाइजोको नाममा पटक पटक कुटपिट गरेको बताउँछिन् । नेपालगन्जमा रहेकी खानले केटिएम दैनिकसँग भनिन्, ‘बिहेमा दिएको दाइजो बाहेक पनि पटक पटक दाइजो तथा रकम माग गरिएको थियो । अफसरुलाको परिवारले रकम दिन नसकेपछि निर्ममतापूर्वक यातना दिँदै हत्या गरिएको हो ।’
खान भन्छिन्, यो घटनामा निष्पक्ष रूपमा छानबिन भएर कर्तव्य ज्यान मुद्दा अनुसार प्रहरीले अनुसन्धान अगाडि बढाउनुपर्ने देखिन्छ ।’
पीडकलाई जोगाउने प्रयास
मृतक अफसरुलाको घटनामा केही तथ्य अपाच्य देखिएका छन् । पहिलो, प्रहरीले तयार पारेको मृतक अफसरुलाको शव जाँच मुचुल्का नै अपूर्ण रहेको देखिन्छ ।
प्रहरीको मुचुल्कामा मृतक अफसरुलाको दायाँ पट्टीको कानमा देखिएको घाउ उल्लेख गरिएको छैन । अर्को महत्त्वपूर्ण मृतक अफसरुलाको दायाँ पट्टीको कानमाथि टाउकोमा देखिएको गहिरो चोट पनि मुचुल्कामा उल्लेख गरिएको छैन । जुन चोट धारिलो हतियारले प्रहार भएको जस्तो देखिन्छ ।
साथै मुचुल्कामा पिठ्युँको बीच भागमा हत्केलाले हानेको जस्तो निलो ४ वटा डामहरू रहेको उल्लेख गरिएको विवरण पनि पूर्ण छैन । उनको पिठ्युँमा ४ भन्दा बढी डामहरू रहेको देखिन्छ । जुन हत्केलाले नभई केही वस्तुले प्रहार गरेको जस्तो देखिन्छ ।
मुचुल्काका विषयमा वरिष्ठ वकील भोलासिंह हमाल पनि प्रहरीले पीडकलाई बचाउने तरिकाले लाश जाँच मुचुल्का बनाएको बताउँछन् । मृतकको शरीरमा भएका सबै घाउ, चोटलाई मुचुल्कामा उल्लेख नगरिएको उनले बताए ।
मृतक अफसरुलाका बुबा प्रदेश सभा सदस्यमा निर्वाचित कृष्ण केसी (नमुना)ले पीडकहरूलाई बचाउन प्रहरीलार्ई दबाब दिएको आरोप लगाउँछन् । चुनावको समयमा आफ्नो भोट बढाउन कृष्णले कर्तव्य ज्यान मुद्दा दर्ता गर्न नदिएको र जाहेरीमा २ जनाको मात्र नाम राख्न लगाएको उनको आरोप छ ।

त्यस्तै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक शाहले पनि प्रहरीलाई दबाब दिँदै पीडकलाई बचाउने प्रयास गरेको उनीहरूको आरोप छ ।
अफसरुलाको मृत्युपछि दुई पटकसम्म मृतकका बुबा मो.बहाब खाँलाई पैसा दिएर घटनाको मेलमिलाप गराउन प्रयास गरिएको छ । मृतक अफसरुलाको श्रीमान् मेराजका आफन्त पर्ने भारतीय नागरिकले मो.बहाब खाँलाई पैसाको लोभ देखाएका थिए भने अन्य एक जनाले पनि उनलाई पैसा लिएर घटनाको मेलमिलाप गराउने प्रयास गरेका थिए ।
किन कर्तव्य ज्यानमा प्रहरीले मुद्दा दर्ता गरेन ?
घटनापश्चात् मो.बहाब खाँ १६ गतेदेखि आफ्नो छोरीलाई मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा धाउन थाले । तर जिल्ला प्रहरीले उल्टै उनलाई नै हकारेर पठाएको उनी बताउँछन् । यहाँसम्म प्रहरीले उजुरीमा दुई जना भन्दा बढीको नाम राख्न नपाइने भन्दै आफूलाई दबाब दिइएको मो.बहाब खाँले बताए ।
मो.बहाबले सुरुमा मेराज शेष, मेराजको बुबा नजिर अहमद शेष, मेराजको दाइ आलमिन शेष, मेराजको दिदी साज रुन शेष, मेराजको भाउजू हसिना शेष गरी ५ जनाको नामसहित कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानको मुद्दा दर्ता गर्न पुगेका थिए । ‘सुरुमा ५ जनाको नाम लिएर जाँदा प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी ज्यूले उल्टै हामीलाई थर्काउँदै तिमीहरूले जे भने त्यही हुन्छ भन्नुभयो,’ मो. बहाब खाँले भने ।
त्यसपछि फेरि कात्तिक १७ मेराज शेष, मेराजको दाइ आलमिन शेष र मेराजको भाउजू हसिना शेष गरी ३ जनाको नाम लिएर पुनः मो. बहाब प्रहरी चौकी पुगे । त्यो दिन पनि मुद्दा दर्ता भएन । उनले भने, ‘आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता हुन्छ । दुई जनाको मात्र नाम ल्याउन भनेर इन्स्पेक्टरले पनि थर्काए । अनि कात्तिक १८ गते हामीले दुई जनाको नाम लिएर गयो । तर श्यामकृष्ण अधिकारी ज्यूले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउनु भयो ।’
प्रहरीको अनुसन्धानमा कुनै खोट छैन: एसपी अधिकारी

एसपी श्याम कृष्ण अधिकारी
बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी प्रहरीको अनुसन्धानमा कुनै खोट नभएको दाबी गर्छन् । केटिएम दैनिकसँग कुरा गर्दै अधिकारीले भने, ‘हामीले घटना विवरण थाहा पाएपछि स्थानीय जनप्रतिनिधि मृतकका परिवार (माइती पक्ष) का व्यक्तिहरू आइसकेपछि ढोका फोडेका शव निकालेका हौँ । मृतकको शव भुईँमा गोडा लत्रिएको अवस्थामा फेला परेको थियो शरीरको पछाडीको भागमा केही नीलडाम पनि थिए ।
अधिकारी भन्छन्, ‘शवको पोस्टमार्टम रिपोटले झुण्डिएर निधन भएको देखाएपछि हामीले आत्महत्या दुरुत्साहन मुद्दामा मृतकका श्रीमान् र जेठाजुलाई हिरासतमा लिएका छौँ । उनीहरू अहिले हिरासतमा छन् ।’
मृतकको टाउकोमा चोट लागेको तर प्रहरी मुचुल्कामा सो कुरा उल्लेख नगरिएको भन्ने पीडित पक्षको दाबी छ । शव पोस्टमार्टम गरेपछि टाउको सिलाइन्छ । तत्काल लिएको तस्बिर र पाँच घण्टापछि लिएको मृतकको शरीरको फोटोमा धेरै भिन्नता हुन्छ । शरीर डिकम्पोज भइसकेको हुन्छ ।’
उनले प्रहरीको अनुसन्धानमा शंका गर्ने कुनै ठाउँ नरहेको बताए ।