
समाज किन यति बिघ्न आक्रामक छ ? महिला हिंसाविरुद्ध आवाज उठाउँदा किन गरिन्छ साङ्घातिक हमला ? म सिकार बनेकी छु दुई पटक । महिला हिंसाविरुद्ध मैले उठाएको आवाज दबाउन ममाथि ज्यान मार्ने गरी गरेको भयानक हमला मैले भोगेकी छु । पीडितलाई न्याय दिलाउन सघाउँदा नागरिक अगुवा भनौदाबाट ‘थ्रेट’ पाएकी छु । ज्यान मार्ने धम्की पाएपछि सुरक्षा अनुभूति गर्न नेपालगन्जबाट भागेर काठमाडौँ आएकी छु । आखिर किन समाज महिला हिंसाविरुद्धको आवाज दबाउन मरिहत्ते गर्छ ? करणीको प्रतिकार गर्दा नारीको चिच्याहट रोक्न खोजेझैँ अभियान्ताको मुख थुन्न खोज्छ समाज ?
नारीलाई नपढ् भन्छ, अगाडि नबढ् भन्छ, ठाडो नबोल् भन्छ, बिस्तारै बोल भन्छ । सानैमा बालबालिकालाई डर देखाउन ‘हाउगुजी’ भनेजस्तै पटक–पटक धम्की दिन्छ समाज । किन समाज महिलाले पढेको, अगाडि बढेको र अधिकार मागेको देखिसहँदैन ? किन भन्छ, पुरुषबिना महिलाको अस्तित्व छैन भनेर ? पितृसत्तात्मक सोच हटाएर समानताको माग गर्दा किन मातृसत्तात्मक समाजको कल्पना गर्न खोज्यो भन्ठान्छ ?
यी र अनेक अनुत्तरित प्रश्न छन् मसँग ? सायद मजस्तै थुप्रै नारीसँग होलान् यी प्रश्न, जसको उत्तर शिक्षित भनौदो समाज, सरकार र प्रतिपक्षीले दिन सक्दैनन् । किनकि, उनीहरू चाहन्छन्, समाज पितृसत्तात्मक नै होस्, कुरीतिको अन्त्य नहोस् । ‘बोक्रे अभियन्ता’ले दुई पैसा कमाउन् र एक पैसा आफूलाई दिउन्, ‘डलरे एनजिओ’को गोजी भरियोस्, एक–दुई डलर आफ्नो भकारीमा हाल्दियोस्, कुर्सीमा अनन्त समय बस्न पाइयोस् र आफ्नालाई संरक्षण गर्ने मौका मिलोस् ।
वर्षौँअघि जब म स्कुल पढ्थेँ । कलिला हातले किताबका पाना पल्टाउँदै गर्दा त्यहाँ लेखिएका हुन्थे, ‘समाज परिवर्तनशील छ ।’ मलाई लाग्थ्यो समाज परिवर्तन गर्न सहजै होला ! म पनि समाज परिवर्तनका लागि होमिन्छु, स्वस्थ समाज निर्माणमा योगदान दिन्छु र हिंसारहित समाज निर्माण गर्छु । किनकि मैले त्यति बेला देखेको समाज महिला हिंसाले भरिपूर्ण थियो । म मुस्लिम समुदायमा हुर्किएकी हुँ, जुन समुदायमा पुरुषले महिलालाई माटोबाट बनेको दियो सम्झिन्थ्यो । बालुन्जेल शोभा, निभेपछि ‘पर जा’ ! दिनैपिच्छे पुरुषद्वारा एउटी अबोध नारी कुटिन्थी, पढ्न खोज्ने एउटी बालिकाले विवाहकी लागि बाध्य हुन्थी, नवदुलही दाइजोको निहुँमा जिउँदै जल्थी । महिलामाथि हिंसा गरेको पुरुष छाती फुलाएर बाहिर निस्कँदा ताली पिट्थ्यो समाज, एकता नहुँदा नारीहरू डराउँथे, सरकार मूकदर्शक बन्थ्यो ।
अहिले म ठुली भएँ । उमेरले ३४ पुगेँ । तर शिक्षित भनौदो समाज अझै पनि बामे सर्दै छ । महिला हिंसाका घटना उस्तै छन्, महिलाबाट जन्मिएर उनीहरूलाई नै कमजोर आँक्ने पुरुषहरूको सङ्ख्या घटेको छैन । अपराधीलाई दण्डित गर्ने कानुन उत्तिकै कमजोर छ । अपराधीहरू बलिया छन्, उनीहरूलाई संरक्षण गर्न सरकार अझै तयार छ । नारीमा एकता छ, तर उनीहरू आवाज दबाउन पितृसत्तात्मक समाज लागिपरेकै छ । महिला हिंसाविरुद्ध बोल्ने अभियन्ताहरूमाथि अपराधी सोच भएकाहरूले धावा बोलेकै छन् । लोकतान्त्रिक मुलुक प्रादेशिक संरचनामा छ, घरघरमा सिंहदरबारका नारा घन्किरहेकै छन् । तर न्याय माग्न २१ दिनको पैदल यात्रा गरी काठमाडौँ छिरेका हामी धर्नामा बसेको दुई साता लाग्नै लाग्दा सरकार कानमा तेल हालेर बसेको छ । अझ, न्यायको भिख माग्दै गर्दा भन्छ– ‘बरु ती नेतालाई कसरी बचाउने त्योबारे पनि विचार गर्ने हो कि ?’ सरकार नै अभियुक्तको संरक्षणमा जुट्दा न्यायको आशा कसबाट गर्ने ?
घरी–घरी लाग्दो रहेछ, सबै हापिदिउँ ! परोस् मेरो छातीमाथि पुरुषको लात अनि शरीरले छोडोस् सबै सास । छोडौँ यो न्याय नपाउने अभियान, सहिरहौँ घरेलु हिंसा, अब जन्मिएका बालिकालाई पढ्न नदिऔँ, अगाडि बढ्न नदिऔँ । कायमै राखौँ कुरीति । तर पीडितहरूको आँसु पुछ्दै गर्दा न्यायका लागि बोलिदिन मन हुन्छ, उनीहरूको मुटु छाम्दा लडाइँ जित्ने साहस आउँछ । चाहिँदैन कसैको आर्थिक सहयोग, न्यायका लागि सङ्घर्ष गर्दै गर्दा हामीलाई साथ दिनेहरूको खाँचो छ । ‘बोक्रे अभियन्ताहरू’ले पाँचतारे होटेलमा महिला हिंसाविरुद्धको १६ दिने अभियान गरिरहँदा माइतीघर मण्डलाको सडक किनारमा कठ्याङ्ग्रिँदो जाडो सहँदै न्याय मागिरहेका छौँ ।
तेर्सिएका प्रश्न : न्याय माग्न पैसा ?
म बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ मा ३४ वर्षअघि मुस्लिमको घरमा जन्मिएकी हुँ । विपन्न परिवारमा जन्मिएर हुर्के पनि मैले पढ्ने, नोकरी गर्ने र न्यायका लागि निरन्तर सङ्घर्ष गर्ने साहस गरेँ । चकलेट प्याक गरेर आमाले मलाई पढाइरहँदा समाजले नराम्रो सोच्थ्यो । ‘मुस्लिमकी छोरीले पढ्न हुँदैन’ भन्ने समाजले विभिन्न अङ्कुश लगाउँदा पनि पछि हटिनँ । सेवा मात्र गर्ने केही संस्थामा जागिर खाएको १३ वर्ष जति भयो तर पनि पैसाको लोभ भएन । अहिलेसम्म घर खर्च दिएको छैन, यसमा कुनै असन्तुष्टि पनि छैन । जसोतसो आफूलाई चलाएँ होला तर न्यायका लागि लडिदिँदा पैसा लिइनँ ।
यो विषय मैले किन पनि निकालिरहेको छु भने, प्रायः हामीबीच यी प्रश्न तेर्सिन्छन् । कसैले घुमाउरो तरिकाले भन्नुहुन्छ, ‘आफूलाई चलाउने खर्च कसरी जुटाउनु हुन्छ ? ’ उहाँहरूको प्रश्नमा न्यायका लागि लडिदिँदा पैसा लिने गरेको हो ? भन्न गन्ध आउँछ । तर म प्रतिप्रश्नमा उहाँहरूलाई भन्छु– ‘न्याय माग्न पैसा ? पैसा भएको भए हामीले न्यायका लागि किन उभिइनुपर्छ ? पैसा फाल्दा त न्याय पाइहालिन्छ नि ! त्यै अपार पैसा भएकै व्यक्तिकै पक्षमा त छ सरकार अनि न्यायिक प्रशासन ।’
हुन त कसै कसैको प्रश्नको अर्थ भने आफ्नै खल्तीबाट चलेर अरूलाई न्याय दिलाउँदा के फाइदा ? भन्ने पनि हुन्छ । हो, आर्थिक रूपमा फाइदा नहोला तर मन सन्तुष्ट हुन्छ । हामी नेपालगन्जबाट काठमाडौँ हिँडेर आउँदा न्यायप्रेमीहरूले खाजा–नास्ता खुवाएर सहयोग गर्नुहुन्थ्यो । हाम्रो सङ्घर्ष देखेर होस् वा आफ्नै पीडा सम्झेर होस्, उहाँहरू हामीसँगै बसेर रुनुहुन्थ्यो । उहाँहरूले भरेको त्यो जोस आज काठमाडौँको गल्लीमा सहरियाहरूको भिडभित्र रहेर सरकारसँग न्यायको अञ्जुली थापिरहेको छ ।
रुवी खानसँग मीनप्रसाद शर्माले गरेको कुराकानीमा आधारित ।