
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्दै प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ।
नेपालमा “घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष यो अभियान मनाईदैछ ।
महिलालाई महिला भएकै कारणले तथा पुरुषलाई पुरुष भएकै कारणले अथवा लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार वा हिंसालाई लैंगिक हिंसा भनिन्छ ।
लैंगिक हिंसाले मानव अधिकारको उपहार गरिरहेको हुन्छ । विशेष गरी पितृसतात्मक समाजमा पुरुषभन्दा महिलाहरू नै बढी लैंगिक हिंसाको सिकार भइरहेका हुन्छन् । धेरैजस्तो अवस्थामा महिलामाथि पुरुषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने कतिपय अवस्थामा महिलामाथि महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू पनि भेटिन्छन् ।
विभिन्न ठाउँ तथा परिस्थितिमा महिलाहरू माथि हिंसा भइरहेको हुन्छ । आफूले काम गर्ने ठाउँ एवं कार्यालयहरूमा आफ्नै सहकर्मी एवं हाकिमबाट हुने हिंसा, बजार, सडक, यातायातका साधन, विद्यालय लगायत आफ्नै घर परिवार भित्र पनि श्रीमान्, सासु, ससुरा, नन्द, भाउजू, दाजुभाइबाट महिलाहरू लैंगिक हिंसाको सिकार हुने गरेका छन् । महिला र पुरुषबिचको लैंगिक भेदभाव र असमानता घटाउने, महिलाहरूमाथि हुने सबै प्रकारका लैंगिक हिंसाहरूले अन्त्य गर्ने जस्ता विषयमा चर्को बहस र छलफल हुने गरेता पनि व्यवहारमा यी कुरा लागू हुन सकिरहेको देखिँदैन ।
महिला हिंसाका कारणहरू
पितृसत्तात्मक सोच र मानसिकताले लैङ्गिक हिंसा बढाउन ठुलो प्रभाव पारिरहेको हुन्छ । त्यसै गरी परम्परा, धर्म, संस्कृति र रीतिरिवाजका आडमा समेत महिलामाथि हिंसा भइरहेको हामी पाउँछौ ।
जाँड रक्सी तथा लागु पदार्थको सेवनले समेत नेपाली समाजमा महिला माथिको हिंसा बढाएको देखिन्छ। महिला हिंसाको अन्य कारणहरूमा शिक्षा , चेतनाको कमी , बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको मूल्याङ्कन नहुनु , महिलाहरू आफैमा सबल र सक्षम हुन नसक्नु , सधैँ अरूमाथि निर्भर भई रहनु जस्ता कारणले समेत महिलामाथि हिंसा हुने गरेको देखिन्छ । कतिपय अवस्थामा मानसिक रोगका कारणले पनि घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरू हुने गरेको पाइन्छ ।
घरपरिवार तथा समाजमा हुने गरेका लैङ्गिक हिंसा वा शोषणहरूका घटनाहरू बाहिर नल्याई भित्रभित्रै सुल्झाउने , ढाकछोप गर्ने वा उल्टै पीडितलाई दोषी देखाउने गरेको घटनाहरू समेत पाइन्छ । यस्तो कार्यले महिलाहरू भित्रभित्रै मानसिक रूपमा विक्षिप्त हुने , सधैँ अन्यायमा परेको महसुस गर्ने , आत्मविश्वास गुमाउने , नैरस्यताको सिकार भई आत्महत्याको प्रयास वा आत्महत्या समेत गर्ने गरेका घटनाहरू छन् ।
महिलामाथि हुने हिंसाका स्वरूपहरू
महिला माथि लैङ्गिक हिंसाका विभिन्न रूपहरू रहेका छन् । जस्तो: बोक्सीको आरोप, यौन दुर्व्यवहार तथा छेड छाड, दाइजो प्रथा , जबरजस्ती गर्भ पतन, छाउ प्रथा, दाइजो प्रथा , आर्थिक अधिकारबाट वञ्चित गरिनु, लाञ्छना लगाउनु, काम तथा तलबमा विभेद गर्नु आदि ।
महिलाहरू माथि हुने लैङ्गिक हिंसालाई यसरी वर्गीकरण गर्न पनि सकिन्छ ।
१) शारीरिक हिंसा
कुटपिट गर्ने , एसिड छ्याप्ने , घोक्र्याउने, लछारपछार गर्ने कामको बोझ थोपरेर दुःख दिने जस्ता कार्यहरू महिलाहरूमाथि हुने शारीरिक हिंसाका रूप हुन् ।
२) यौन हिंसा
जबरजस्ती यौन व्यवसायमा लगाउने, यौन कार्यमा लाउन किनबेच गर्ने , बलात्कार वा अन्य यौन दुव्यवहार महिलाहरूमाथि हुने यौन हिंसाका रूप हुन् ।
३) मानसिक हिंसा
अपशब्दको प्रयोग गर्नु, लाञ्छना लगाउनु, छोरी जन्माई भनेर हेला गर्नु, अर्को विवाह गर्न धम्की दिनु, बाँझो , विधवाजस्ता शब्दको प्रयोग गर्नु, अरूका अगाडि होच्याउनु, इच्छा र आकाक्षा दबाउनु, दुर्व्यवहार गर्नु, चिठ्ठी टेलिफोन, इमेल इन्टरनेटबाट धम्की दिनु, ब्लाकमेलिङ्ग गर्नु, अश्लील तस्बिर, भिडियो सार्वजनिक गर्नु जस्ता व्यवहार मानसिक हिंसाका उदाहरण हुन् ।
४) परम्परागत हिंसा
बालविवाह, बहुविवाह, दाइजो, बोक्सीको आरोप, बादी प्रथा, छाउपडी, देउकी, झुमा आदी जस्ता सामाजिक परम्परा तथा अन्ध विश्वासले समेत महिलाहरू माथि हिंसा भइरहेको ।
५) आर्थिक हिंसा
महिलालाई आर्थिक आय आर्जनको काम गर्न रोक लगाउनु, घर धन्दामा नै सीमित गर्नु, आर्थिक रूपमा आश्रित पार्नु, सम्पत्तिको हकमा अवरोध पुर्याउनु , समान काममा असमान ज्याला , श्रम शोषण जस्ता कुराले महिलाहरू आर्थिक रूपमा हिंसाको सिकार भइरहेका हुन्छन् ।
६) सामाजिक तथा राजनीतिक हिंसा
महिलाहरूलाई राजनीति वा समाजसेवामा लाग्नबाट वञ्चित गराउनु, समाजमा कार्य गर्ने अवसरहरू नदिनु, राजनीतिमा वा सामाजिक कार्यमा लागेका महिलाहरूको चरित्रहत्या गर्नु, उच्च पदमा पुग्न नदिने गरेर छेकबार लगाउनु गरेर समेत महिलाहरू माथि हिंसा भइरहेका छन् ।
लैंगिक हिंसाको परिणामका रूपमा महिलाहरूमा विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखा पर्ने गरेका छन् ।
लैङ्गिक हिंसाले मनोसामाजिक समस्याको जोखिम
लैङ्गिक हिंसाले मानसिक एवं मनोसामाजिक समस्याको जोखिम बढाउने गरेको विश्व भरि गरिएका विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सन् २०१२ मा देशका ६ जिल्लाहरूमा गरेको अध्ययन प्रतिवेदन अनुसार नौ सय नमुना उत्तरदाता महिलाहरू मध्ये ४ सय ३२ जनाले लैंगिक हिंसाको अनुभव गरेको उल्लेख गरेका छन्। लैंगिक हिंसा व्यहोर्ने ४ सय ३२ जना मध्ये ६९ प्रतिशतलाई मानसिक समस्या भएको र २९ प्रतिशतमा आत्महत्या गर्ने सोच आएको साथै ७ प्रतिशतले आत्महत्याको प्रयास गरेको पाइएको छ ।
लैङ्गिक हिंसामा परेका व्यक्तिहरूमा विभिन्न किसिमका मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरू देखिने गर्दछन् ।
मन उदास हुने, अनावश्यक डर लाग्ने, चाँडो रिस उठ्ने, ज्यादै चिन्ता गर्ने, द्विविधामा पर्ने, निर्णय गर्न नसक्ने, साथी भाइहरूसँग घुलमिल, कुराकानी गर्न मन नलाग्ने,कसैलाई विश्वास गर्न नसक्ने, विभिन्न शारीरिक समस्याहरू देखा पर्ने, कमजोर भएको महसुस गर्ने, केही काम गर्न मन नलाग्ने, दिक्दार लाग्ने, एक्लो महसुस गर्ने, आफूलाई नै दोषी ठान्ने, आत्महत्याको सोच आइरहने, निन्द्रा नलाग्ने, रुन मन लाग्ने, के होला, कसो होला भनेर भविष्य तथा घर परिवारको चिन्ता गरिरहने जस्ता लक्षणहरू देखिन सक्छन्। लैंगिक हिंसाका कारण देखा परेका समस्याको समाधानको निम्ति, औषधि उपचार , मनोविमर्श एवं भावनात्मक सहयोगका साथै कानुनी तथा अन्य आवश्यक सहयोग प्रदान गर्नुपर्छ ।
( लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् )